Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

काँचो मासु खाँदा मस्तिष्कमा पुग्यो १८ सेन्टिमिटर लामो जुका

काँचो मासु खाँदा मस्तिष्कमा पुग्यो १८ सेन्टिमिटर लामो जुका

बेइजिङ : चीनमा डाक्टरहरूले एक व्यक्तिको मस्तिष्कबाट १८ सेन्टिमिटर लामो जुका निकालेर उनको ज्यान बचाएका छन्। ती व्यक्तिले वर्षौँअघि सर्पको काँचो अङ्ग खाएका थिए, जसका कारण जुका उनको दिमागसम्म पुगेको थियो।

चिनियाँ सञ्चारमाध्यमले ली भनेर चिनाएका ती व्यक्तिलाई अचानक बेहोस हुने, छारे रोग लाग्ने र मुखबाट फिँज आउन थालेपछि हुनानस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। उनको समस्या करिब एक वर्षअघि सुरु भएको थियो, जब उनको आँखामा केही बाहिरी वस्तु देखिएको महसुस भएको थियो।

उनले आँखामा मोजाइकजस्तो आकृति देखिन थालेको बताएका थिए। उनले डाक्टरलाई देखाए, तर नेत्ररोग विशेषज्ञले आँखामा केही पनि असामान्य नदेखे पनि एमआरआई स्क्यान गर्दा उनको आँखाको पछाडि कुनै बाहिरी वस्तु भएको खुलासा भयो।

यद्यपि, दृष्टि समस्या हराएपछि उनले शल्यक्रिया गर्न मानेनन्। उनलाई थाहा थिएन कि उनको यो निर्णयले एक अनपेक्षित पाहुनालाई उनको दिमागमा बस्ने र बढ्ने मौका दिँदैछ।गत महिनाको अन्त्यतिर लीको अवस्था झन् खराब भयो। उनी अचानक बेहोस भए । उनको मुखबाट फिँज आयो भने उनी काम्न पनि थाले।

अर्को एमआरआई गरेपछि डाक्टरहरूले शल्यक्रिया गरी उनको दिमागभित्र रहेको जिउँदो जुका निकाल्ने निर्णय गरे। शल्यक्रियाका क्रममा एक सर्जनले सावधानीपूर्वक लामो, सेतो परजीवीलाई पूरै बाहिर निकाले, जुन हलचल गरिरहेको थियो।

सफल शल्यक्रियापछि एउटा प्रश्न बाँकी नै रह्यो: जुका मानिसको दिमागमा कसरी पुग्यो? डाक्टरहरूको सोधपुछपछि लीले वर्षौँअघि एउटा सर्प समातेर त्यसको काँचो पित्तथैली खाएको बताए। उनले त्यसबेला यसलाई खासै वास्ता गरेनन्, तर यसरी उनले सर्पभित्र रहेको 'स्पार्गानम' लार्भालाई आफ्नो शरीरमा प्रवेश गर्न दिए, जुन अन्ततः उनको दिमागसम्म पुग्यो र त्यहीँ बस्यो।

brain-worm2-750x223

  • स्पार्गानोसिस के हो?

स्पार्गानोसिस भनेको 'स्पाइरोमेट्रा मानसोनी' नामक टेपवर्मको लार्भा हो, जुन प्रायः भ्यागुता, सर्प र चराहरूमा पाइन्छ। काँचो वा आंशिक रूपमा पकाएको भ्यागुताको मासु, सर्पको मासु, र स्पार्गानोसिस भएका अन्य खाद्य पदार्थ खाँदा लार्भा शरीरमा प्रवेश गर्ने ठुलो जोखिम हुन्छ। यी लार्भा अन्ततः दिमागमा बस्न सक्छन् र सबै प्रकारका समस्याहरू, यहाँसम्म कि मृत्युसमेत निम्त्याउन सक्छन्।

भाग्यवश, ली १० दिनपछि डिस्चार्ज भए । उनी पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको छ। उनको यो घटना एक चेतावनीको कथा बन्नेछ र अरूलाई पनि उनले गरेको गल्ती गर्नबाट रोक्नेछ भन्ने डाक्टरहरू आशा गर्छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij