Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

भूकम्पको पीडामा भएकालाई वर्षाको कहर

भूकम्पको पीडामा भएकालाई वर्षाको कहर

पूर्वी अफगानिस्तानमा भूकम्प गएको चार रात र दिनपछि खान जमान हनाफीले आफूले जिन्दगीमा पहिलो पटक सबैभन्दा खराब अवस्था सहनु परेको बताए। भूकम्पले घरबासबिहीन बनाएपछि खुला आकाशमा रात बिताइरहेका उन र उनजस्तै हजारौं नागरिकको पीडामा यही समयमा आएको वर्षाले नुनचुक छर्ने काम गरेको छ।

पेशाले किसान रहेका ३५ वर्षीय हनाफी र सयौं गाउँलेले आफ्नो गाउँलाई ‘सरकार र सहायता समूहले बिर्सेको’ बताए । ‘पानी परिरहेको छ र पनि हामीलाई खुला ठाउँमा बस्नुको विकल्प छोडिएको छैन,’ आफ्नो गाउँ शेल्टको भग्नावशेषबाट टाढा परिवारसँग मकैबारीमा सुतेका उनले एएफपीसँग भने।

तालिवान सत्तामा आउनुभन्दा पहिले पाकिस्तानबाट आउने र जाने लडाकुहरूका लागि तस्करी मार्ग र करिडोरका रूपमा चिनिने यी उपत्यकाका पहाडमा माटोका घर थिए। ती बासस्थान एकाधबाहेक सबै भग्नावशेषमा परिणत भए। नभत्किएका घर पनि भूकम्पका कारण चर्केर बस्न योग्य छैनन्।

आइतबार राति ६।० म्याग्नीच्यूडको भूकम्प जाँदा ती घर ठूलो मात्रामा ध्वस्त भए। वनका लागि प्रसिद्ध कुनार प्रान्त भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएको छ। यो भूकम्प देशको इतिहासमा सबैभन्दा घातकमध्येको एक थियो।

आइतबारको भूकम्पका कारण अहिलेसम्म दुई हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ भने कैयौं अझै सम्पर्कबिहीन छन्। ‘भूकम्पबाट बढी प्रभावित शेल्टमा ३५० घर र मामा गोलमा ३०० घर थिए, हामीले ६८ वटा मात्र टेन्ट वितरण गरेको सुन्यौं,’ हनाफीले भने।

उनले भने, ‘यो ठाउँ बस्न योग्य छैन, तर हामीसँग कुनै विकल्प छैन। हामी गरिब छौं। हामी चाहन्छौं कि सरकार र सहायता समूहले हामीलाई हाम्रो घर पुनर्निर्माण गर्न मदत गरून्।’ तालिवान अधिकारीले भूकम्पको क्षति व्यापक रहेको भन्दै आफू एक्लैले यसको सामना गर्न नसक्ने कुरा स्वीकार गरिसके।

संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय सहायतामा तीव्र गिरावट र छिमेकी देशबाट निष्कासित लाखौं आप्रवासीको फिर्तीको सामना गरिरहेकाले उनीहरूको स्रोतको विस्तार भइनसकेको तालिवान सरकारका अधिकारीले बताए।

अधिकारीले भूकम्पबाट नजिकका सहरलाई जोड्न र आवतजावतलाई सहज बनाउन पहिलो चरणमा कुनारको भिरालो जमिनमा बुलडोजर पठाई भूकम्पका कारण भासिएका केही साँघुरो, घुमाउरो सडकलाई जोड्ने काम गरिरहे। यसले आवागमनलाई सहज बनाउने र गाउँमा सहयोग पुर्‍याउन सहयोग हुने विश्वास उनीहरूको छ।

खान सइद देशमाशलाई एक दर्जन घाइते आफन्तसँग हेलिकप्टरबाट उनको गाउँ मिन्जेगालेबाट छिमेकी नान्गाहार प्रान्तको राजधानी जलालाबादको एक अस्पतालमा लगिएको थियो। उनले भने, ‘कच्ची सडकबाट अस्पताल लगिएको भए सायद जीवन रहन्नथ्यो, हवाइ उद्धारका कारण बाँच्न त पाइयो। अब के गरी जीवन जीउनेरु बाँच्ने आधार सबै गुमे।’

कृषि कर्मलाई आफ्नो पेशा बनाएका ४७ वर्षीय देशमाशले भूकम्पमा परी आफ्ना सबै गाई र भेडासहित परिवारका छ जना सदस्य गुमाए। उनले भने, ‘सबै जना आघातमा परे, यो अराजकता हो। हामी अब सीधा सोच्न पनि सक्दैनौं ।’ अब एउटा मात्र कुरा निश्चित छ, देशमाशले भने, ‘अब यी गाउँमा बस्न सम्भव छैन। त्यहाँ अझै पनि पराकम्पन आइरहे, धेरै घर ध्वस्त भए। हामीलाई अन्यत्र स्थानान्तरण गर्न आवश्यक छ।’

तर ३५ वर्षीय अब्दुल आलम नेजामीले आफू आफ्नो गाउँ मसूदमा बस्न चाहेको बताए । संयुक्त राष्ट्रसङ्घका अनुसार करिब ८५ प्रतिशत मानिस दैनिक एक डलरमा बाँचिरहेका देशमा भूकम्पमा ढलेका वा पहिरो र चट्टानले क्षति पुर्‍याएका सबै कुराको मर्मत गर्न उनीहरूले शून्यबाट सुरु गर्नुपर्नेछ।

‘अवरुद्ध सडक खुलाउने काम भइरहेको छ, फसल पूर्ण रूपमा नष्ट नहोस् धन्नका लागि सिँचाइ कुलो र जलाशयको पनि पुनर्निर्माण गर्न आवश्यक छ,’ नेजामीले भने । अहिलेका लागि उन आफ्नो तात्कालिक जीवनयापनको स्थितिमा केन्द्रित छन्।

‘दुई–तीन परिवारका लागि एउटा मात्र पाल छ, ठूलो पानी पर्दा चुहिने हुँदा यो ‘अस्थायी घर’मा पनि पीडा हुने गरेको छ,’ उनले भने। उनले थपे, ‘वर्षा रोकिएको छैन, हिजो रातिदेखि फेरि वर्षा भइरहेको छ।’मजार दारामा पनि भग्नावशेषबाट निकालिएको त्रिपालमा ‘प्वाल छन् यसले हामीलाई वर्षाबाट जोगाउँदैन,’ ४८ वर्षीय किसान जहीर खान साफीले भने । साफीले भने, ‘हामी पालमा बच्चालाई राख्छौं। उनीहरूलाई पूर्ण ओत पुगेको छैन। तिनीहरूको पनि लुगा भिजे र फेर्नका लागि केही पनि छैन।’ एएफपी

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij