काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले राप्तिसोनारी–नरैनापुर खण्डमा राप्ति नदी तटबन्धनका लागि पछिल्ला तीन वर्षमा भारत सरकार, एडीबी र नेपाल सरकारमार्फत २३ अर्ब रुपैयाँभन्दा बढी विनियोजन भएको जानकारी दिएका छन्।
प्रतिनिधिसभामा सांसद सूर्य प्रसाद ढकालको प्रश्नको जवाफ दिँदै उनले भारत सरकारले ३५.०३ करोड, एडीबीले १४३.९८ करोड र नेपाल सरकारले ४१.९५ करोड रुपैयाँ छुट्याएको बताए। तीन वर्षदेखि नेपाल–भारतबीच बाढी तथा डुबानसम्बन्धी बैठक नबसेकाले भारतीय अनुदान रकम खर्च हुन नसकेको पनि उनले उल्लेख गरे।
चालू आर्थिक वर्ष २०८२/८३ मा मात्रै भारत सरकारले २०.५० करोड, एडीबीले ३७.६६ करोड र नेपाल सरकारले १२.८६ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए। दीर्घकालीन समाधानका लागि बबई नदी, सहायक नदीहरू, पश्चिम राप्ति दाङ खण्ड र बाँके खण्डका नदीहरूको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी चरणबद्ध कार्यान्वयनमा लैजाने योजना रहेको उनको भनाइ छ। यसले नदीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणमा सहयोग गर्ने उनले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij