Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

'स्मार्ट वर्क, टिम वर्क' र नवीन सोचबाट मात्रै समृद्धि सम्भव : भौतिकमन्त्री देवकोटा

'स्मार्ट वर्क, टिम वर्क' र नवीन सोचबाट मात्रै समृद्धि सम्भव : भौतिकमन्त्री देवकोटा

मकवानपुरगढी :  बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । उहाँले परिणाममुखी नतिजाका लागि “स्मार्ट वर्क, टिमवर्क र नवीन सोच” आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।

आर्थिक वर्ष २०८१-८२ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२-८३ को कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटनपछि मन्त्री देवकोटाले कर्मचारीतन्त्रको सोच र कार्यशैलीमा आमूल परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“औपचारिकता निभाउने र पुरानै ढर्रामा काम गर्ने प्रवृत्तिले जनतामा सकारात्मक परिवर्तन ल्याउन सक्दैन,” उहाँले भन्नुभयो, “हाम्रो हरेक काम प्रत्यक्ष परिणाममा देखिनुपर्छ, त्यसका लागि स्मार्ट तरिकाले काम गर्नुको विकल्प छैन।”

ठूलो लक्ष्य हाँसिल गर्न बलियो टिमवर्क अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्रालयका महाशाखा, विभाग र कर्मचारीबीच समन्वय र सहकार्यलाई प्राथमिकतामा राख्न उहाँले निर्देशन दिनुभयो ।

त्यस्तै, विकास र परिवर्तनका लागि नवीन सोच र गतिशील कार्ययोजना आवश्यक रहेको बताउँदै मन्त्री देवकोटाले विश्वव्यापी प्रविधि र अवधारणालाई प्रदेशको विकासमा लागू गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले योजनालाई प्राथमिकताका आधारमा वर्र्गीकरण गरी स्रोत र साधनको अधिकतम उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

गोष्ठी कार्यक्रममा वातावरण संरक्षण तथा जलबायू परिवर्तन विज्ञ डा. माधव कार्र्की र शहरी योजना विज्ञ डा. संगिता सिंहले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नविन कुमार सिंह, प्रदेशका ११ वटै जिल्लाका भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख, सहरी विकास तथा भवन कार्यालयका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij