Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

ग्रामिण अल्ट्रासाउन्ड सेवाले गर्भवतीलाई सहज

ग्रामिण अल्ट्रासाउन्ड सेवाले गर्भवतीलाई सहज

नेपालगन्ज :  बाँकेको दुर्गम मानिने तथा स्वास्थ्य सेवाको पहुँचसमेत न्यून भएको नरैनापुर गाउँपालिकामा सञ्चालनमा आएको ग्रामीण अल्ट्रासाउन्ड सेवाले गर्भवतीहरूलाई सहज भएको छ ।

गाउँमै अल्ट्रासाउन्ड सेवा सुरु भएपछि नरैनापुरका गर्भवतीहरूले अल्ट्रासाउन्ड गराउनु परेमा ४५ किलोमिटर टाढा नेपालगन्ज पुगेर महँगो शुल्क तिरेर सो सेवा लिनुपर्ने बाध्यता समेत अन्त्य भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार अल्ट्रासाउन्डमार्फत गर्भमा रहेको शिशुको अवस्था समयमै थाहा हुने भएकाले जोखिमपूर्ण अवस्थामा मातृ–शिशु दुबैको ज्यान जोगाउन सकिने सम्भावना बढेको छ ।

सो सेवा गाउँघरकै स्वास्थ्य केन्द्रमा सुरु गरिएपछि टाढा गएर गर्भ जाँच गराउनुपर्ने झन्झट हटेसँगै मातृ तथा शिशु मृत्युदर घटाउने प्रयासमा पनि सहयोग पुगेको स्वास्थ्य शाखा प्रमुख शाहले बताउनुभयो। उहाँका अनुसार अहिले सो अल्ट्रासाउन्ड सेवा नरैनापुर–४ मा सञ्चालन भइरहेको छ ।

स्वास्थ्य केन्द्रका सिनियर अनमी लक्ष्मी गुरुङका अनुसार अल्ट्रासाउन्डले गर्भको अवस्था, बच्चाको तौल, उमेर, प्लासेन्टको स्थिति, ‘एम्नियोटिक’ तरलको मात्रा र मुटुको धड्कनबारे जानकारी दिन्छ । जसले गर्दा गर्भको बारेमा सबै कुरा जानकारी हुने गरेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म एक हजार ३८६ जना गर्भवतीले अल्ट्रासाउन्ड सेवा लिइसकेको स्वास्थ्य शाखाले जनाएको छ । सेवा प्रभावकारी देखिएकाले गाउँपालिकाले सबै ६ वटै वडामा सो सेवा विस्तार गर्ने लक्ष्य राखेको गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताउनुभयो। हाल एक मात्रै मेसिनमार्फत सेवा दिइँदै आएको छ ।

गाउँपालिका अध्यक्ष शाहले गाउँमै भिडियो एक्सरेमार्फत गर्भ परीक्षण सेवा पाएपछि स्थानीय महिलाहरू उत्साहित भएको बताउनुभयो । उहाँले स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएकाले आगामी दिनमा स्वास्थ्यका थप सेवा सुविधा पनि बिस्तार गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट