काठमाडौं : रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिस्पर्धामा रहेका नौ आकांक्षी उम्मेदवार आज सभापति रवि लामिछानेसँग भेट गर्दैछन् ।रास्वपाका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दामा पूर्वपक्षका लागि नख्खु जेलमा रहेका सभापति लामिछानेलाई आकांक्षीहरूले बिहान ११ बजे भेट्ने कार्यक्रम तय भएको छ ।
उनीहरुले आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि २५ हजार रुपैयाँ दस्तुर बुझाएर उम्मेदवारी आवेदन दिएका थिए । रास्वपाका अनुसार आवेदन दिनेमा सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, कुसुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८, डा. लेखजंग थापा सिद्धार्थनगर–९, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका छन् ।
रास्वपाले भदौ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिसकेको छ। त्यसअघि आकांक्षीहरूले पार्टी अध्यक्षसँग प्रत्यक्ष भेटघाट गरी छलफल गर्ने तयारी गरेका हुन्। आजै रास्वपाको सचिवालय बैठकसमेत बस्दैछ।
रुपन्देही–३ उपनिर्वाचन गत चैत १९ गते दिवंगत राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनपछि रिक्त भएको निर्वाचन क्षेत्रका लागि तय भएको हो । सो निर्वाचन आगामी कात्तिक १७ गते सम्पन्न हुनेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij