Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

गैरकानुनी विदेश यात्रा : परिवारलाई आहत, छैन राहत

गैरकानुनी विदेश यात्रा : परिवारलाई आहत, छैन राहत

बागलुङ :  गलकोटकी एक युवती गैरकानुनी रुपमा विदेश जाँदा हिंसामा परिन् । ती महिला पर्यटन भिसामा ओमान गएकी थिइन् । गैरकानूनी रुपमा घरेलु कामदार बस्दा हिंसामा परेर ती महिलाले दुःख पाइन् ।

हिंसाका कारण ज्यानै जोखिममा पारेकी ती महिलालाई सकुशल नेपाल फर्काउन त सकियो, तर राहत, बिमा रकम र अन्य सेवा भने पाउन सकिनन् ।

बिना श्रम स्वीकृति साउदीअरब पुगेका बागलुङ नगरपालिका –८ सिगानाका एक युवाको गत पुस २८ गते निधन भयो । बिरामी पर्दा साउदी अस्पतालमा उपचार गर्न श्रम स्वीकृति चाहियो । घर परिवारले नेपालमै झिकाएर उपचार गराउन खोजे पनि प्रक्रिया झन्झटिलो हुँदा बिमारीले थलिएका उहाँको कोठामै निधनभयो ।

परिवारकै खर्चमा उहाँको शव नेपाल ल्याउन ३ महिना लाग्यो । बिमा र पारिश्रमिक नभएपछि परिवारमा अहिले ठूलो आर्थिक संकट छ । श्रम स्विकृति लिएको भए उहाँले कम्तिमा २५ लाख बिमा रकम र अन्य क्षतिपूर्ति पाउनु हुन्थ्यो ।

बागलुङ नगरपालिका –३ का अर्का युवाको गत वर्ष रोमानियामा निधन भयो । एउटा कम्पनी भनेर अर्कोमा काम गरेकाले डिउटीमै निधन भएर पनि उहाँको शव ल्याउन ४ महिना लाग्यो । श्रम सम्झौता गरेकाले बिमा रकम पाए पनि कम्पनी फरक परेकाले राहतस्वरुप पाउनुपर्ने २० लाख गुम्यो । राहत रकमका लागि पहल भने भइरहेको आप्रवासी श्रोत केन्द्र (सामी) की परामर्शकर्ता गंगा शर्मा रिजालले बताउनुभयो ।

‘‘काम पाइयो भनेपछि श्रम सम्झौता नगर्ने र कम्पनीबारे चासो नराख्दा धेरै जना समस्यामा परेका छन्, राहदानी बनाउने बेलैमा केन्द्रबाट परामर्श लिँदा भवितव्य हुँदा राहत र क्षतिपूर्ति रकम पाउन सकिन्छ’’ रिजालले भन्नुभयो ।

गत आर्थिक वर्ष मात्र श्रम स्वीकृति नभएका, गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा गएकामध्ये २० जना विदेशमा बिरामी परेका थिए । उनीहरुले उपचार खर्च पाउन सकेनन् । केन्द्रको पहलमा १४ जनाको क्षतिपूर्ति र राहत रकम दिलाउन नसकेपछि बिमा रकम भने समयमै उपलब्ध गराउन सकेको रिजालले बताउनुभयो ।

उहाँका अनुसार ६ जनाको अझै प्रक्रियामा छ । परिवारले पाउनुपर्ने रकम नपाएपछि आफन्तको विदेशमा मृत्यु हुँदा नेपालमा बस्नेले ऋणको भारी बोक्नुपरेको छ । गत वर्ष बागलुङबाट विदेश गएका १० जनाको विदेशमै मृत्यु भएको छ । उनीहरुको शव ल्याउन केन्द्रमार्फत पहल भएको थियो ।

वैदेशिक रोजगारीमा जानेक्रममा ७८ युवा ठगिएका छन् । तीमध्ये २७ जनाको प्रमुख जिल्ला अधिकारीमार्फत केन्द्रले रकम असुलउपर गरेको छ । कतिपयको त प्रमाण नहुँदा अलपत्र छन् । गैरकानूनी रुपमा गएकै कारण ३ जना विदेशमै बेपत्ता छन् । स्वास्थ्य समस्या परेका ९ जनामध्ये ४ जनाको अझै काम हुन नसकेको परामर्शकर्ता रिजालले बताउनुभयो ।

गैरकानूनी रुपमा काम खोज्दै विदेश गएका ५ महिलालाई उद्धार गरिएको छ । ३ जनाको स्वास्थ्यमा समस्या भएपछि फर्काइएको थियो । ११ महिला ठगिएका छन् । आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा ठगिएकाहरुको २ करोड २५ लाख ८७ हजार रुपियाँ फिर्ता ल्याउन सकिएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij