Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पथलैया ट्राफिकका एसपी राजकुमार सिलवाल छानबिनमा

पथलैया ट्राफिकका एसपी राजकुमार सिलवाल छानबिनमा

काठमाडौँ  : मधेस प्रदेश स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बारा, पथलैयाका एसपीमाथि छानबिन भइरहेको छ । आचरण विपरीतको काम गरेको आशंकामा मधेस प्रदेश प्रहरी कार्यालयले समिति बनाएर एसपी राजकुमार सिलवालमाथि छानबिन थालिएको छ  ।

सिलवालमाथि छानबिन गर्न ३ वटा समिति गठन गरिएको मधेस प्रदेशका डीआईजी उमा प्रसाद चतुर्वेदीले पुष्टि गरिएकाे छ  । छुट्टाछुट्टै छानबिन समितिको नेतृत्व एसएसपी भीम दाहाल, एसएसपी कमल थापा र एसपी नारायण रञ्जितकारले गरेका छन् ।

आचरण विपरीतको काम गरेको आरोप लगाएर एसपी सिलवालबिरुद्ध मधेस प्रदेश प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा ३५ थान उजुरी परेको छ । ती उजुरी ५ वटा भिन्नाभिन्दै प्रकृत्तिको रहेको डीआईजी चतुर्वेदीले बताएका छन् । उनले भने, ‘३५ थान उजुरी आएको छ, त्यसबारे समितिले छानबिन गरिरहेको छ ।’

ट्राफिक प्रहरीले गर्नुपर्ने भन्दा फरक काम गरेको भन्नेबारे मधेस प्रदेशका ८ वटै जिल्लाबाट आएको उजुरी सङ्कलन गरेर अध्ययन भइरहेको मधेस प्रदेश प्रहरी कार्यालयका एकजना अधिकृतले बताएका छन् । उनले भने, ‘३५ थान उजुरी पथलैयाका एसपीविरुद्धको मात्र होइन, उहाँका मातहतका सबै जिल्लाको उजुरी सङ्कलन गरिएको छ ।’

प्रहरी उपरीक्षक सिलवालले मापसे गरेर सवारी चलाउने चालकलाई जरिवाना गरेर छाड्नुपर्नेमा रातभर नियन्त्रणमा राखेको र चालकहरूसँग रकम असुल्ने गरेको आरोप छ । त्यस्तै उनले चोरीको गाडी नियन्त्रणमा लिएर भन्सार बुझाउनुपर्नेमा आफूखुसी प्रयोग गरेको आरोप छ । छानबिन समितिसँग सिलवालले चोरीको गाडी भन्सार बुझाउने प्रक्रियामा नै रहेको बयान दिएका छन् । छानबिन समितिका एकजना सदस्य भन्छन्, ‘उहाँले चोरीको गाडी भन्सार बुझाउने प्रक्रियामा छु भन्नुभएको छ ।’

राजमार्गमा चेकजाँच गर्दा स्थानीय प्रहरीसँग समन्वय गरेर संयुक्त चेकजाँच गर्नुपर्नेमा ट्राफिकले मात्रै गर्ने गरेको आरोप छ । त्यस्तै, हेभिलोडको नियम पालना नगराएको बारे समितिले उनीमाथि छानबिन गरिरहेको छ ।

छानबिन समितिका संयोजक तथा मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी कमल थापा आफैँ विवादित हुन् । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा थापा पनि मतियार रहेको आरोप लागेको हाे ।

व्यवसायीलाई ‘बलात्कार मुद्दामा पसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर ३० लाख असुलेको घटनामा शक्तिकेन्द्रबाट दबाब दिन लगाएर थाप आफू कारबाहीबाट जोगिएका हुन् । सो प्रकरणमा त्यतिबेला भैसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनु शाही ललितपुर जिल्ला अदालतबाट धरौटीमा छुटेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij