Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

ह्वाइट हाउसद्वारा सिडिसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि

ह्वाइट हाउसद्वारा सिडिसी प्रमुखलाई बर्खास्त गरिएको पुष्टि

वासिङ्टन : संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का प्रमुखले खोपसम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवादका क्रममा राजीनामा दिन नमानेपछि ह्वाइट हाउसले उहाँलाई बर्खास्त गर्न लागेको बुधबार पुष्टि गरेको छ ।

केनेडीले अमेरिकी खोप नीतिमा व्यापक फेरबदल गरेको विषयमा बढ्दो विवादका कारण सिडिसीका अन्य पाँच जना वरिष्ठ अधिकारीले पनि राजीनामाको घोषणा गरेको एजेन्सीका केही कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले जनाएको छ । उहाँ स्वास्थ्य वैज्ञानिक तथा लामो समयदेखिे अनुभवप्राप्त सरकारी कर्मचारी सुसन मोनारेज सीडीसीको प्रमुख हुन्हुन्थ्यो तर केनेडीको स्वास्थ्य तथा मानव सेवा विभाग (एचएचएस) ले उहाँ ‘अब निर्देशक नरहेको’ घोषणा गरेको छ ।

मोनारेजका वकिलले एएफपीलाई दिएको जानकारीमा भन्नुभएको छ, “मोनारेजले न त राजीनामा दिनुभयो न त ह्वाइट हाउसबाट उनलाई बर्खास्त गरिएको सूचना नै पाउनुभएको छ ।” केनेडीले राजनीतिक लाभका लागि सार्वजनिक स्वास्थ्यलाई हतियार बनाएको र लाखौँ अमेरिकीको जीवन जोखिममा पारेको आरोप लगाउँदै वकिलले भने, ‘उहाँ निष्ठावान र विज्ञानप्रति समर्पित व्यक्ति हुनुहुन्छ र उहाँले राजीनामा दिनुहुने छैन । मोनारेजले अवैज्ञानिक, लापरबाहीपूर्ण निर्देशन र समर्पित स्वास्थ्य विशेषज्ञलाई बर्खास्त गर्न नमानेपछि उहाँलाई नै निशाना बनाइएको बताइएको छ ।

ह्वाइट हाउसले भने मोनारेजलाई बर्खास्त गरिएको पुष्टि गरेको छ । ह्वाइट हाउसका प्रवक्ता कुश देसाईले इमेलमार्फत जारी गरेको एएफपीलाई प्राप्त विज्ञप्तिमा भनिएको छ, “सुसन मोनारेज राष्ट्रपतिको अमेरिकालाई स्वस्थ बनाउने कार्यसूचीसँग मेल खानुहुँदैन ।” “सुसन मोनारेजले एचएचएस नेतृत्वलाई राजीनामा दिन चाहेको जानकारी गराए पनि राजीनामा दिन आलटाल गरेपछि ह्वाइट हाउसले मोनारेजलाई सीडीसीको पदबाट बर्खास्त गरेको छ,” देसाईले भन्नुभयो ।

मोनारेजको बर्खास्तीबारे पहिलो पटक समाचार प्रकाशित गर्ने वासिङ्टन पोस्टका अनुसार केनेडीले उहाँको खोप नीति परिवर्तनलाई समर्थन गर्ने प्रतिबद्धता जनाउन नमानेपछि सिडिसी प्रमुखबाट राजीनामा दिन दबाब दिनुभएको थियो ।

-अति भयो-

सिडिसीका दुई हजारभन्दा बढी कर्मचारीको प्रतिनिधित्व गर्ने एक युनियनका अनुसार सिडिसीका पाँच उच्चपदस्थ अधिकारीले इमेलमार्फत राजीनामा दिएका छन् । एएफजीई लोकल २८८३ युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ’सिडिसीका धेरै अनुभवी जनस्वास्थ्य नतृत्वले अचानक राजीनामा दिएको सुनेर हामी स्तब्ध भएका छौँ ।”

“राजनीतिले उनीहरूलाई कुनै विकल्प नछाडेका कारण धेरैले आफूले मन पराएको कामबाट टाढा जान बाध्य भए”, युनियनले भनेको छ, “खोपले जीवन बचाउँछ ।” सिडिसीको राष्ट्रिय खोप तथा स्वासप्रस्वास रोग केन्द्रका निर्देशक पदबाट राजीनामा दिएका डेमेट्रे दासकलाकिसले भन्नुभयो, “यो त अति भयो ।”

“सिडिसीलाई वैज्ञानिक वास्तविकता प्रतिबिम्बित नगर्ने नीति र सामग्री उत्पन्न गर्ने उपकरणको रूपमा व्यवहार गरिएको छ र यसले जनताको स्वास्थ्य सुधार गर्नुको सट्टा चोट पुर्याउने छ । म त्यस्तो वातावरणमा सेवा गर्न असमर्थ छु, उहाँले एक्समा लेख्नुभएको छ ।

सिडिसीका प्रमुख चिकित्सा अधिकृत डेब्रा होउरी र संस्थाको ‘नेशनल सेन्टर फर इमर्जिङ एण्ड जुनोटिक इन्फेक्शियस डिजिज’का निर्देशक डेनियल जर्निगनले पनि राजीनामा दिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij