Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

यस्तो छ भाइरल ज्वरो आउनुकाे कारण

यस्तो छ भाइरल ज्वरो आउनुकाे कारण

काठमाडौँ :  मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढ्न थालेका छन् ।  पछिल्लो केही दिन यता ज्वरोको समस्या लिएर विभिन्न अस्पतालमा जाने बिरामीको सङ्ख्या पनि बढ्दो छ ।

राजधानीका कान्ति बाल अस्पताल, ललितपुरको, पाटन अस्पताल, काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगायतका अस्पतालमा भाइलर ज्वरोका बिरामी आउने क्रम बढ्दो छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सीमा दिनमा आठ १० जना बिरामी ज्वरोको समस्या लिएर आउने अस्पतालमा निर्देशक डा. युवानिधि बसौला बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “केही सयमदेखि अस्पतालको इमर्जेन्सी, बहिरंग (ओपिडी) मा ज्वरोका बिरामी बढ्दै गएका छन् । ज्वरोका बिरामीको भर्नादर पनि बढी नै छ ।”

त्यस्तै, कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरि चापागाईले अस्पतालमा भाइरल ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या आउने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ,“भाइरल ज्वरोका बिरामी ह्वातै नबढे पनि फाटफुट्टा अस्पतालमा बिरामी आइरहेका छन् । अस्पतालमा नआएपनि प्रायः भाइरल ज्वरोका बिरामी घरमा नै आराम गर्ने गर्छन् ।”

मौसम परिवर्तन हुँदा भाइरल ज्वरोका बिरामी बढ्ने डा. चापागाईको भनाइ छ। उहाँका अनुसार यो मौसममा वातावरणमा भाइरस बढी सक्रिय  हुने हुँदा भाइरसजन्य रोगको जोखिम बढ्ने गर्छ । बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा अन्य मानिसको तुलनामा ज्वरोको समस्याले बालबालिकालाई दुःख दिन्छ ।

ज्वरो के हो ?

डा.चापागाईका अनुसार ज्वरो आफैमा रोग होइन । ज्वरो आउनुका मुख्य कारण भाइरस, ब्याक्टेरिया, निमोनिया, टाइफाइड, पिसाबको सङ्क्रमण आदि रहेको छ । शरीरको तापक्रम ९८.६ डिग्री फरेनहाइटभन्दा माथि भएमा ज्वरो आएको मानिन्छ ।  ज्वरोसँगै जिउ, घाँटी दुख्ने, आँखा रातो हुने, रुघा लाग्ने जस्ता लक्षण देखिएमा भाइरलजन्य सङ्क्रमणको कारणले ज्वरो आएको हुन सक्ने उहाँको भनाइ छ । उहाँका अनुसार भाइरल ज्वरो विशेषगरी, पाँच देखि सात दिनमा आफै निको हुँदै जान्छ । कुनै बेलामा अन्य लक्षण नदेखिई ज्वरो मात्र आउने गर्छ ।

शरीरको तापक्रम १०० डिग्री  फरेनहाइटभन्दा बढी भएमात्र प्यारासिटामोल खान उपयुक्त हुन्छ । भाइरस सङ्क्रमण भएको समयमा ज्वरो कम गर्ने प्यारासिटामोल, झोलिलो खानेकुरा खाएर घरमा नै आराम गरेमा ज्वरो पाँचदेखि सात दिनमा आफै निको हुँदै जाने उहाँको भनाइ छ । भाइरसजन्य रोगको सङ्क्रमण हुँदा आफुखुसी जथाभाबी एन्टिवायोटिक वा अन्य प्रकारका औषधी किनेर नखान उहाँको सुझाव छ ।

कस्तो अवस्थामा अस्पतालमा लैजाने 

यदि, बच्चाको ज्वरो १०२(१०३ डिग्री फरेनहाइटभन्दा घटेन, सास फेर्न गाह्रो भएमा, सास छिटो छिटो फेरेमा, नाकको फोरा धेरै चलेको छ भने, तारन्तार वान्ता भएमा, पेट फुल्ने, जिउ आलस्य भएमा, खाना मन नगर्ने जस्ता गम्भीर लक्षण देखिए तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजान उहाँको सुझाव छ ।  यदि पाँच देखि सात दिनमा आफैं निको हुँदै गएन भने परीक्षण  गरेर मात्र औषधी खुवाउन उहाँको सुझाव छ ।

 सङ्क्रमण हुन नदिन के गर्ने 

भाइरलज्वरो  लाग्नबाट बच्न सावधानीका उपाय अपनाउन पर्छ ।बच्चालाई पोषिलो झोलिलो खानेकुरा खाना दिने ,  आराम गराउनुपर्छ । साथै, सरकारले दिएका नियमित खोप लगाउनाले बच्चामा रोगप्रतिरोधात्मक क्षमता बढ्ने गर्छ ।

बालबालिकालाई रोग लाग्नबाट बचाउन सङ्क्रमित बालबालिकाबाट टाढै राख्ने, ज्वरो, रुघाखोकी लागेमा विद्यालय वा खेल्ने ठाउँमा नपठाउने, भिडभाडमा नलैजाने, लैजानै परेमा  माक्स लगाएर मात्र लैजान उहाँको सुझाव छ ।

डा.चापागाई भन्नुहुन्छ, “भाइरलजन्य रोगबाट बचाउन व्यक्तिगत सरसफाइमा ध्यान दिने, नियमित रूपमा साबुन पानीले हात धुन लगाउने, प्रशस्त पानी, सुप र जुस लगायतका पोषिलो झोलिलो खानेकुरा खुवाउने । भिडभाडमा नलैजाने, सन्तुलित र पौष्टिक खाना खुवाउने।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट