वीरगन्ज : वीरगन्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली यहाँ आइपुगेको छ ।
गत शुक्रबारदेखि वीरगन्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै आज गौर प्रादेशिक अस्पतालका डा. परशुराम यादव र डा.विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगन्जको नारायणी अस्पतालमा आइपुगेको हो ।
प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगन्जमा झाडापखाला र हैजाका बिरामी देखा परेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगन्ज पठाइएको जानकारी दिए ।
‘दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली पठाएका छौँ’, उनले भने, ‘चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले वीरगन्ज आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणमा सहयोग गर्नुका साथै बिरामीको उपचारका लागि समन्वय गर्नुहुनेछ ।’
वीरगन्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन् भने झाडापखालाजन्य लक्षण देखिएका एक सय तीन जना यहाँका विभिन्न अस्पतालमा उपचाररत छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij