Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

क्यान्सर अस्पतालमा ईएचएस सेवाः अतिरिक्त शुल्क तिरेर तुरुन्त शल्यक्रिया

क्यान्सर अस्पतालमा ईएचएस सेवाः अतिरिक्त शुल्क तिरेर तुरुन्त शल्यक्रिया

चितवन : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले शल्यक्रियाको विस्तारित सेवा (ईएचएस) शुरु गरेको छ । कोभिड अघिसम्म सञ्चालनमा रहेको विस्तारित सेवा पुनः अहिले शुरु गरिएको हो । अस्पतालको नियमित सेवाभन्दा पछाडि (४ बजेपछि) अतिरिक्त शुल्क तिरेर यो सेवा लिन सकिन्छ । यो सेवा लिन चाहने बिरामीले तुरुन्तै शल्यक्रिया गर्न पाउनेछन् ।

बिरामीको चाप बढ्दै गएपछि नियमित समयसँगै अतिरिक्त समयमा शल्यक्रिया सेवा थालिएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताउनुभयो । उहाँले नियमितभन्दा अतिरिक्तमा केही शुल्क बढी लाग्ने भएपनि पालो कुर्न नचाहने र आर्थिक रुपमा सक्षम बिरामीलाई लक्षित गरेर सेवा शुरु गरिएको बताउनुभयो । आर्थिक रुपमा सक्षम बिरामीले ईएचएस सेवा लिएपछि नियमित सेवा लिने बिरामीको चाप घट्ने बताउँदै कार्यकारी निर्देशक डा. पौडेलले भन्नुभयो “जसबाट विपन्न अन्य बिरामीका लागि पनि सहज हुन्छ ।”

विस्तारित सेवा लिंदा नियमित शल्यक्रियाभन्दा २५ देखि ३० प्रतिशत महंगो पर्ने गर्दछ । बिरामीले शल्यक्रियाका लागि लाग्ने शुल्क केही बढी तिर्नु पर्ने भएपनि अन्य सुविधा अस्पतालको प्रयोग गर्न पाउनेछन् । यसले गर्दा निजी अस्पतालमा शल्यक्रिया गर्नुभन्दा निकै सस्तो पर्ने छ ।

बिरामीको चाप बढ्दै जाँदा शल्यक्रियाको पालो लामो नहोस् भनेर नै यो सेवा शुरु गरेको उहाँले बताउनुभयो । आईतबार आन्द्राको क्यान्सरको शल्यक्रिया गरिएको अस्पतालका कन्सल्टेन्ट सर्जिकल अंकोलोजिष्ट डा. ज्ञान प्रसाद पोखरेलले बताउनुभयो । उहाँका अनुसार आज सोमबार नाक–कान–घाँटीको शल्यक्रिया यसै सेवा अन्तर्गत गरिंदै छ ।

अस्पतालमा नियमित शल्यक्रिया गर्नुपर्ने बिरामीले १० दिनदेखि दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ । पोखरेलले विस्तारित सेवा मार्फत् उपचार गर्न पाएसँगै बिरामीलाई धेरै राहत हुने बताउनुभयो । उहाँका अनुसार ईएसएस सेवा लिन चाहने बिरामीले तुरुन्तै शल्यक्रिया सेवा पाउँछन् । डा. पोखरेलले भन्नुभयो “शल्यक्रिया गर्न विभिन्न परीक्षण गर्नुपर्ने हुन्छ, त्यसकारण ईएसएस सेवा लिने बिरामीको तीन दिनभित्र शल्यक्रिया गर्न सकिन्छ ।”

अस्पतालमा न्यूरो (नसा), हेड एण्ड नेक (नाक–कान–घाँटी), थोरासिस (छाती) जिआई (पेट) ब्रेस्ट (स्तन), युरोलोजि (मूत्रासय), गाईनो (पाठेघर), अर्थाेपेडिक्स (हाडजोर्नी), प्लास्टिक सर्जरी हुने गर्दछ । प्लास्टिक सर्जरी बाहेकका सबै शल्यक्रिया विस्तारित सेवा (ईएचएस) मा हुने हुनेछन् ।

कार्यकारी निर्देशक डा. पौडेलले देशभरमा क्यान्सरको उपचार हुने बिरामी मध्ये ६० प्रतिशत यसै अस्पतालमा हुने गरेको बताउँदै भन्नुभयो “सन् २०२३ मा अस्पतालमा पाँच हजार ३७४ वटा शल्यक्रिया गरिएका छन् । अघिल्लो वर्ष यो संख्या चार हजार थियो ।”

सन् २०२३ मा बहिरंग सेवामा एक लाख ७२ हजार ५६ बिरामीको उपचार गरिएको छ । अघिल्लो वर्ष यो संख्या एक लाख ६२ हजार थियो । बिरामीको संख्या निरन्तर बढ्दै गएपछि चापलाई ध्यानमा राखेर अस्पतालले विस्तारित सेवा लगायतका अन्य सेवाहरु पनि विस्तार गरेको उहाँको भनाई छ ।

विस्तारित सेवासँगै क्यान्सर अस्पताल भनेर आउने बिरामी बाहिरका निजी अस्पतालमा मंहगो शुल्कमा उपचार गर्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । अहिले पनि कतिपय चिकित्सकले बिरामीलाई यहाँ पालो कुर्नु पर्ने भन्दै निजी अस्पताल लैजाने गरेको गुनासो आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट