सिन्धुलीमाढी : सिन्धुली जिल्लामा बर्खाका लागेपछि बिरामीको सङ्ख्या बढ्दै गएको छ । दुषित पानी र खानपानका कारण ज्वरो, टाइफाईड, झाडापखला, दम लगायतका रोगका बिरामी बढेका हुन् ।
बर्खाको मौसम सुरु हुनु अघि उपचारका लागि दैनिक तीन सयको हाराहारामीमा अस्पताल आउने गरेकोमा पाँच सयसम्म पुग्ने गरेको सिन्धुली अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट(मेसु) डा. अभिषेक थपलियाले बिरामी बढ्नुको कारण ‘सिज्नल फ्लु’ भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले बिरामी दैनिक ओपिडीमा चारदेखि पाँच सय जनासम्म र ईमर्जेन्सिमा ४० देखि ५० जनासम्म आइरहेका छन् ।’ धेरै जसो बिरामी ज्वरो, टाईफाईड, झाडापखला, दम रोगका रहेका पनि उहाँले बताउनुभयो ।
मेसु थपलियाका अनुसार सिन्धुली अस्पतालमा विभिन्न रोगको सल्यक्रिया गर्ने क्रम पनि बढेको छ । विगतका दिनमा सल्यक्रिया गर्न राजधानी काठमाडांै र अन्यत्र जाने बिरामी पनि सिन्धुली अस्पतालमा आउन थालेकाले बिरामीको सङ्ख्या बढेको हो । सिन्धुली जिल्लाकै सबैभन्दा ठूलो स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’ ले बिगत केहि वर्षदेखि विशेषज्ञ चिकित्सा सेवा सुरु गरेसँगै बिरामीको आकर्षण बढेको छ ।
कमलामाई नगरपालिका–६ निवासी शिक्षक ध्रुब पहाडी झाडापखालाका कारण दुई दिनअघि अस्पतालमा भर्ना भइ उपचार गरि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘खै, खानपान नमिलेर त होला नी झाडापखाला भएको । भर्ना भएर उपचार गरि रहेको छु ।’
५० शैय्याबाट क्षमता विस्तार गरी एक सय शैय्या बनाइएको सिन्धुली अस्पतालमा ११ जना विशेषज्ञ (कन्सल्टेन्ट) चिकित्सक, नौ जना मेडिकल अधिकृतको दरबन्दि छ । पाँच वर्षअघिसम्म बिरामीहरुलाई सेवा प्रवाह गरि रहेको जीर्ण पुरानो भवन भत्काइ त्यही ठाँउमा अहिले चार वटा ब्लकमा अपाङ्गमैत्री (लिफ्ट) सहितको सुविधा सम्पन्न आधुनिक अढाई तले भवन निर्माण गरिएपनि त्यसले एक सय बेडको क्षमता धान्न सक्ने अवस्था नभएको अस्पतालले जनाएको छ ।
त्यस्तै राष्ट्रिय विमा बोर्डले सिन्धुली अस्पताललाई बिमाको रकम समयमै भुक्तानी नगर्दा उक्त अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट बिरामीले निःशुल्क पाउने औषधी पाउन सकिरहेका छैनन् । राष्ट्रिय विमा बोर्डले सिन्धुली अस्पताललाई दिनु पर्ने गत वर्ष भदौदेखि हालसम्मको बिमाको रकम करिब सात करोड रुपिया भुक्तानी नगर्दा औषधी खरिद गर्न नसक्दा उक्त समस्या आएको अस्पतालले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष शतिषचन्द्र ढकालले बिमा बोर्डले गत वर्ष भदौदेखि नै बिमाको रकम नपठाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बिमा बोर्डले अस्पताललाई एक लाख जनाभन्दा बढी बिरामीको करिब सात करोड रुपियाँ भुक्तानी दिन बाँकी छ । उक्त रकम नपाएदा औषधी खरिद गर्न नसक्दा अस्पतालको फार्मेसी रित्तिदै गएको छ ।’
उहाँका अनुसार स्वास्थ्य बिमा गरेका बिरामीले फार्मेसीबाट ९८ किसिमका औषधी निःशुल्क पाउँदै आएकोमा अहिले अधिकांश औषधी सकिएको छ । अस्पतालको मुख्य आम्दानीको स्रोत नै बिमाको रकम भएकाले औषधी किन्न लगायतका सबै कुरा रोकिएको छ । अस्पतालमा उपचारका लागि दैनिक आउने बिरामी मध्ये आधाभन्दा बढी स्वास्थ्य बिमा गरेका बिरामी आउने गरेका छन् । जिल्लामा हालसम्म एक लाख ४३ हजार ३३३ जनाले स्वास्थ्य बिमा गरेका छन् ।
अस्पतालको फार्मेसि औषधीको अभावमा रित्तिदै जाँदा बिरामीले सामान्य औषधि समेत बाहिरको औषधी पसलमा खरिद गर्नु पर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । यसअघि दुई-तीन महिनाको फरकमा उक्त रकम आउने गरेकोमा अहिले लामो समयदेखि नआउदा अस्पतालको दैनिक प्रशासन समेत प्रभावित भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष ढकालले भन्नुभयो, ‘चिकित्सकलाई ईन्सेन्टिभ वापत दिनुपर्ने रकम समेत रोकिएको छ पछि एक मुष्ट पाउन हुन्छ भनी फकाएर काममा लगाएका छौं ।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij