नयाँदिल्ली : दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि हमला भएको छ । बुधवार बिहान मुख्यमन्त्री निवासमा सार्वजनिक सुनुवाइको क्रममा गुप्तामाथि आक्रमण भएको हो । मिडिया रिपोर्टका अनुसार उनलाई थप्पड हानिएको थियो ।
आरोपीले मुख्यमन्त्रीको हात समातेर तानेको दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले भनेका छन् । यसक्रममा गुप्ता टेबलको कुनामा ठोकिइन् । उनको टाउकोमा चोट लागेको बताइएको छ । यस घटनालाई सचदेवाले गलत भनेका छन् ।
आक्रमणको पुष्टि गर्दै दिल्लीकी मुख्यमन्त्री कार्यालयले पनि एक विज्ञप्ति जारी गरेको छ । ‘आज सार्वजनिक सुनुवाइको क्रममा एक व्यक्तिले मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण गरे । आक्रमणकारीलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । उनीसँग सोधपुछ भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ ।
मिडिया रिपोर्टका अनुसार आरोपीले आफ्नो नाम राजेशभाई खिमजीभाई सकरिया बताएका छन् । उनको उमेर ४१ वर्ष भएको बताइएको छ । उनी गुजरातको राजकोटका बासिन्दा हुन् । यो घटनापछि दिल्लीका मुख्य सचिव र धेरै मन्त्रीहरू रेखा गुप्ताको अवस्था जान्न मुख्यमन्त्री निवास पुगेका थिए । मुख्यमन्त्रीको उपचार निवासमै भइरहेको बताइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij