चितवन : रत्ननगर उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय परिसरमा निर्माण गरेको गैँडाको माउ बच्चाको मूर्ति अनावरण गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र संघका अध्यक्ष शङकर गिरीले संयुक्त रुपमा गैँडाको मूर्ति अनावरण गरेका हुन् ।
संघका अध्यक्ष गिरीले जिल्लाको पर्यटन विकासका लागि सकारात्मक सन्देश प्रवाह गर्न जिल्ला प्रशासन कार्यालय परिसरभित्र गैँडाको मूर्ति निर्माण गरिएको बताउनुभयो । चितवनको पहिचानको रुपमा स्थापित एकसिङ्गे गैँडाको मूर्ति प्रशासन कार्यालयमा राख्दा जिल्लाप्रतिको माया जागृति हुनुको साथै यसले सफारी पर्यटनको विकासमा टेवा पुग्ने उहाको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासन कार्यालय परिसरमा निर्माण गरिएको एकसिँगे गैँडाको मूर्तिले जिल्लाको पहिचानलाई थप स्थापित गराउने बताउनुभयो । रत्ननगर उद्योग वाणिज्य संघले गरेको उक्त कामको प्रशंसा गर्दै प्रजिअ पौडेलले निजी क्षेत्रले एउटा उदाहरणीय कामको सुरुवात गरेको बताउनुभयो ।
यो आगामी पुस्ताको लागि पनि सिकाइको विषय बनेको छ उहाँले भन्नुभयो, “यसले जिल्लालाई नै परिचित गराउने छ ।” संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले संघले सामाजिक उत्तरदायित्व बहन गर्दै जिल्ला प्रशासन कार्यालय परिसरमा गैँडाको मूर्ति निर्माण गरेको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा, जिल्ला प्रहरी कार्यालय प्रमुख गोविन्द पुरी, भरतपुर महानगरपालिका –१० का वडा अध्यक्ष परमेश्वर खनाल, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अनिलकृष्ण श्रेष्ठलगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij