Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

नेपालगन्ज १० नाइट रनमा रिले दौड समावेश

काठमाडौँ  : नेपालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यसबर्ष रिले दौड विधा समेत समावेश गरिएको छ ।

विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो । एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड समेत सन्चालन हुनेछ ।

असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनमा १० किलोमिटर पुरुष र महिला खुला, ५ किलोमिटर छात्र एवं छात्रा स्कुल स्तरीय दौड, १० किलोमिटर भेट्रान्स पुरुष (५० बर्षमाथि उमेर समूह), ५ किलोमिटर भेट्रान्स महिला(४५ बर्ष माथि उमेर समूह) र १० किलोमिटर मिक्स रिले (चार जनाको समुह दौड) गरी अलग स्पर्धा राखिएको छ ।

मिक्स रिले नेपालमा पहिलोपटक प्रयोग गर्न लागिएको हो । यसमा स्कुल, कलेज, क्लब वा कुनै पनि संघसंस्थाले महिला पुरुष गरी चार जनाको समूह बनाएर स्पर्धा गर्न सकिने रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताउनुभयो ।

‘’दश किलोमिटरलाई समान चार दुरीमा बाँडेका हुन्छौँ, त्यहीअनुसार धावकले आफ्नो पालोमा आफ्नो दुरी पुरा गर्नुपर्ने हुन्छ ।’ रेस डाइरेक्टर गुरुङले भन्नुभयो, ‘‘यो दौडले रोमान्चकता थप्नेछ र दौडमा आम सर्वसाधारणलाई समेत आकर्षित गर्नेछ ।’’

पहिलोपटक समावेश गरिएको रिले दौडले आम मान्छेलाई दौडको मजा लिन प्रेरित गर्ने एम्स दुत तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताउनुभयो ।

नेपालगन्ज १० नाइट रन एक दशक यात्रा पुरा गरेको धारा नेपालगन्ज म्याराथनकै भगिनी इभेन्ट हो । यी दुवैको संयोजन एवं व्यवस्थापन क्रियटिभ गन्जले गर्दै आएको छ ।

नेपालगन्ज उपमहानगरपालिका नजिकै रहेको बीपी चोकदेखि सुरु भइ राँझा चोक पुगेर पुनः सोही रुटबाट बीपी चोकमै पुगेपछि दश किलोमिटर दुरी पुरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij