विराटनगर : पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन् । करिब १२ वर्षपछि विराटनगरस्थित नेकपा (एमाले) पार्टी कार्यालयको अवलोकन भ्रमणमा पुगेकी भण्डारीले आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय रहेको बताइन् ।
पार्टी कार्यालयमा उपस्थित नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भण्डारीले भनिन्, 'धेरै दिन भएपछि मलाई यहाँ आउन मन लाग्यो। मैले जिल्ला कमिटीका नेताहरूलाई भने, अनुरोध गरेँ, अनि उहाँले हुन्छ हामी अफिस देखाउँछौँ भनेर यो १०-१२ वर्षमा के परिवर्तन भयो, भौतिक संरचनाहरू हेर्न मन थियो।'
भण्डारीले आफू राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन नपाएको बताइन् । वि.सं. २०७२ सालको भूकम्पपछि एक पटक मात्र पार्टी कार्यालयमा आएको स्मरण गर्दै उनले राष्ट्रपति पदबाट निवृत्त भएपछि पार्टी सदस्यता नवीकरण गरेको जानकारी दिइन् । '४५ वर्ष भएछ म पार्टी सदस्य भएको,' उनले भनिन् ।
विराटनगरसँगको आफ्नो गहिरो सम्बन्धबारे उल्लेख गर्दै भण्डारीले भनिन्, 'पार्टी सदस्य पनि म विराटनगरबाटै भएको हुँ। शपथ पनि यहीँ खाएको र यहीँबाट २०४६ सालको जनआन्दोलनमा पनि भाग लिएँ। सबै हिसाबले म चाहिँ यो विराटनगर, मोरङ चाहिँ हाम्रो गृहजिल्ला, गृह नगर जस्तो भएर जोडिएको छ।'
उनले नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् । भण्डारीले भनिन्, 'राष्ट्रिय हितलाई ध्यानमा राखेर नेपाली जनताको सामाजिक न्यायको लागि, वर्गीय हितको लागि र राष्ट्रिय रूपमा चाहिँ हामीले आत्मनिर्भर राष्ट्र निर्माण गर्नको लागि खास गरेर आर्थिक रूपले आत्मनिर्भर हुनसकिएन भने हाम्रो राष्ट्रियता, हाम्रो सार्वभौमिकता, हाम्रो भौगोलिक अखण्डतामा पनि कहिलेकाहीँ आँच आउन सक्छ।´
भण्डारीले आफू अहिले नेकपा (एमाले) को सामान्य सदस्य मात्रै भएको तर राष्ट्रिय एजेन्डामा काम गर्नका लागि नेकपा (एमाले) नै उपयुक्त पार्टी रहेको निष्कर्ष सुनाइन् । 'मेरो यो निष्कर्ष छ कि नेकपा एमाले एउटा देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी हो,' उनले भनिन्, 'त्यसको आधारमा हामीले राष्ट्रिय कामहरू, हाम्रा राष्ट्रका अभिभाराहरू यो पार्टीले पूरा गर्न सक्छ भन्ने मलाई लागेको छ।'
आफू विशेष कामको जिम्मेवारीबाट फर्केर पुनः पार्टीको परिवारमा आबद्ध भएको बताउँदै भण्डारीले उपस्थित सबैलाई पार्टीको सिद्धान्तलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न लाग्न आग्रह गरिन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij