मकवानपुर : बागमती प्रदेश सरकारले लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरेको छ ।बागमती प्रदेशका १३ वटै जिल्लामा अभियान सुरु भएको हो । ललितपुर जिल्लाको कोञ्ज्योसोम गाउँपालिका १ मा आयोजित एक कार्यक्रमका बिच कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले खोप अभियानको उद्घाटन गर्नुभयो ।
अभियान अन्तर्गत प्रदेशका १३ जिल्लाका १ लाख २० हजार पशुलाई खोप लगाउने लक्ष्य राखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा। राम प्रकाश प्रधानका अनुसार सबैभन्दा बढी चितवनको पशु सेवा कार्यालयलाई ३० हजार डोज खोप उपलब्ध गराइएको छ ।
त्यसै गरी, जिल्ला पशु सेवा कार्यालय मकवानपुरका लागि २५ हजार, काभ्रेलाई १४ हजार, नुवाकोट र सिन्धुलीलाई १२÷१२ हजार, धादिङलाई ११ हजार, ललितपुरलाई १० हजार र दोलखाको पशु सेवा कार्यालयलाई ६ हजार डोज खोप उपलब्ध गराइएको छ ।खोपको व्यवस्थापन सङ्घीय सरकारले गरेको छ भने खोप लगाउन लाग्ने खर्च बागमती प्रदेश सरकारले व्यहोर्ने डाक्टर प्रधानले जानकारी दिनुभयो ।
बागमती प्रदेशमा असार र साउन महिनामा मात्रै लम्पी स्किन रोगका कारण ७४ पशु चौपायाको मृत्यु भएको छ । १ हजार ६ सय ३३ पशुमा रोगको सङ्क्रमण देखिएको छ । विशेष गरी मकवानपुर, सिन्धुली, काभ्रेपलान्चोक र सिन्धुपाल्चोकमा यो रोगको सङ्क्रमण बढी देखिएको छ ।
लम्पी स्किन रोग लागेका पशुमा उच्च ज्वरो आउने, शरीरको छालामा ५० मि।मि। सम्मको गोलो गाँठाहरू देखा पर्ने, ती गाँठाहरू फुटेर घाउमा परिणत हुने, मुख तथा नाकको भित्री भागमा घाउहरू देखिने, खुट्टाको जोर्नीहरू सुन्निने जस्ता लक्षणहरू देखिने पशु चिकित्सकहरूले बताएका छन् । यो रोग लागेमा पशुको दूध उत्पादन २५ देखि ६५ प्रतिशतसम्म घट्ने गरेको छ ।
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बागमती प्रदेशका ७१ हजार ९ सय ७७ पशुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको थियो । आर्थिक वर्ष २०८०÷८१ मा ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको थियो ।बागमती प्रदेशमा वार्षिक ४ लाख ८१ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij