Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

पाँच महिनाभित्र ‘फाइव’जी’ सेवा सुरु हुन्छ : मन्त्री गुरुङ

पाँच महिनाभित्र ‘फाइव’जी’ सेवा सुरु हुन्छ : मन्त्री गुरुङ

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको पाँच महिनाभित्र फाइव जी (५ जी) सेवा सुचारु गर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कार्य सम्झौतामा सो विषय उल्लेख गरेकाले कार्यान्वयन गर्ने उहाँको प्रतिवद्धता छ ।

तामाङ पत्रकार संघको ३१ औं प्रसारण दिवसको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । काठमाडौं उपत्यका र पोखरामा पहिलो पटक फाइवजी सेवा सुरु गर्ने उहाँले प्रष्ट पार्नुभयो । प्रविधिमा अन्य मूलुक धेरै फड्को मारेकाले नेपालमा फाइवजी सेवा सुरु गर्दा अन्य मुलुकले ६ जी सेवा सुरु गरिसक्ने उहाँले बताउनुभयो ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारप्रति जिम्मेवारभन्दा पनि जनताप्रति जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रशारण (पिएसबी) को रुपमा सञ्चालन गरिएको उहाँले बताउनुभयो । गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस) को पुराना ऐनको ठाउँमा नयाँ ऐन निर्माण गरी संरचनागत सुधारको प्रयासमा मन्त्रालय लागेको उहाँले जानकारी दिनुभयो ।

अर्को प्रसङ्गमा सरकारको प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “मिडिया काउन्सिललाई सरकारले स्वायत्त बनाउनेमा ध्याउन्न दिएको छ । काउन्सिलको अध्यक्ष सरकारले नियुक्त गर्ने प्रावधान रहे पनि निर्णय प्रक्रियामा काउन्सिलले स्वायत्त भएर काम गर्ने उहाँले बताउनुभयो ।

सञ्चार मन्त्रालय समावेशीताको मुद्दामा सबैभन्दा समावेशी चरित्रको भएको बताउँदै उहाँले गोरखापत्रमा ४५ विभिन्न भाषाको पृष्ठ प्रकाशन, रेडियो नेपालमा २६ भाषाका समाचार बुलेटिन प्रशारण भइरहेको बताउनुभयो । सरकारबाट सबैभन्दा उपेक्षामा रहेको हुलाक सेवा र कारागार (जेल) लाई समेत पुनः संरचनाको प्रयास सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

साइबर क्राइमका घटना धेरै बढेकाले साइबर सेक्युरिटी विधेयक संसदमा छलफलमा रहेको बताउँदै उहाँले सामाजिक सञ्जाललाई समेत नियमन गर्नेगरी विधेयक आउने जानकारी दिनुभयो । सुरक्षण मुद्रणको कामलाई व्यवस्थित गरी आगामी वर्षदेखि नेपालमै पासपोर्ट छपाई, लाइसेन्सलगायतका छपाईको काम गरिने उहाँले बताउनुभयो ।

बागमती प्रदेशका खानेपानी, सिँचाइ र उर्जामन्त्री कृष्णकुमार तामाङले सरकारी सञ्चार माध्यमले मातृभाषा पत्रकारितालाई प्राथमिकता दिनु सकारात्मक रहेको बताउँदै निजी मिडियाले समेत मातृभाषा पत्रकारिता प्रवर्धनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

तामाङ पत्रकार संघका अध्यक्ष नेत्र तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहनकुमार गोले, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, नेपाल प्रेस युनियनका सचिव लालकुमार मोक्तान, प्रेस सेन्टरका उपमहासचिव बुद्ध लोप्चन, संघका सल्लाहकार प्रतीक तामाङ, सम्मानित व्यक्ति टीकाराम तामाङ, संघका वरिष्ठ उपाध्यक्ष तीर्थमान वल लगायतले धारणा राख्नुभयो ।

सो अवसरमा मन्त्री गुरुङले दुई जना पत्रकारलाई तामाङ पत्रकार अवार्डबाट सम्मानित गर्नुभयो । सम्मानित हुनेमा पत्रकार टीकाराम तामाङ (नुवाकोट) र मालती मोक्तान ‘मानवी’ (धनकुटा) सम्मानित हुनुभयो । नगद १० हजार एकसय राशीको सो पुरस्कारसँगै सम्मानपत्र रहेको छ ।

सरकारले २०५१ भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रकाशन गरेको सम्झनामा तामाङ समुदायले हरेक वर्ष प्रशारण दिवसको रुपमा मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट