Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

​ विपिन जोशी प्रकरण : राप्रपा सचेतक शाहीले मागे परराष्ट्रमन्त्री राणाको राजीनामा

​ विपिन जोशी प्रकरण : राप्रपा सचेतक शाहीले मागे परराष्ट्रमन्त्री राणाको राजीनामा

काठमाडौं:  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले परराष्ट्र मन्त्री आरजु राणा देउवाको राजीनामा माग गरेका छन्।

इजरायलमा हमासको बन्धकमा परेका नेपाली नागरिक विपिन जोशीको उद्धारका लागि प्रभावकारी पहल गर्न नसकेको र उनको परिवारको बिचल्ली भएको भन्दै शाहीले परराष्ट्रमन्त्री आरजु राणाको देउवाको राजीनामा माग गरेका हुन्।

​शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आरजु राणालाई ट्याग गर्दै परराष्ट्र मन्त्रालयका परराष्ट्र मन्त्रालयको भूमिकामाथि प्रश्न उठाउदै कूटनीतिक ज्ञानको अभाव रहेको र दुःखमा परेका नागरिकलाई सहयोग गर्न नसकेको आरोप लगाएका छन्।

शाहिले लेखेका छन्–  ‘इजरायल-हमास द्वन्द्वका क्रममा हमासको कब्जामा पर्नुभएका नेपाली नागरिक विपिनको न्याय र सकुशल रिहाइका लागि उहाँकी आमा र बहिनीले इजरायलमा गएर गरिरहनुभएको हारगुहार तथा उहाँहरूको कारुणिक अवस्थाले मर्माहत भएको छु आफ्नो छोरा तथा दाजुभाइको जीवनरक्षाका लागि उहाँहरूले गरिरहनुभएको संघर्ष र बगाइरहेको आँसुले मेरो मन छियाछिया भएको छ।

​यस्तो संवेदनशील घडीमा नेपाल सरकार, विशेषगरी परराष्ट्र मन्त्रालयको भूमिकालाई लिएर गम्भीर प्रश्न उठेको छ। पीडित परिवार न्यायको खोजीमा भौँतारिरहेका बेला परराष्ट्र मन्त्रालयले यस विषयमा पर्याप्त र प्रभावकारी कूटनीतिक पहल गर्न नसकेको गुनासो जनस्तरबाट आइरहेको छ। जनताको रगत-पसिनाबाट आर्जेको करबाट तलब-भत्ता बुझ्ने मन्त्रालयका कर्मचारी तथा पदाधिकारीहरू यस्तो मानवीय संकटमा समेत निष्क्रिय रहनु अत्यन्त दुःखद र खेदजनक छ।

​नेपाली नागरिक विदेशमा समस्यामा पर्दा उनीहरूको सुरक्षा र न्याय सुनिश्चित गर्नु राज्यको, विशेषगरी परराष्ट्र मन्त्रालयको प्राथमिक दायित्व हो। यदि मन्त्रालयले यस्ता कूटनीतिक कार्यहरू प्रभावकारी रूपमा सम्पादन गर्न सक्दैन भने परराष्ट्र मन्त्री तथा कर्मचारीहरूले आफ्नो पदमा बसिरहनुको कुनै औचित्य देखिँदैन।

​परराष्ट्र मन्त्रालयलाई यस विषयको गाम्भीर्यता बुझी तत्काल निम्न कार्यहरूका लागि गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु:

१- ​विपिनको सकुशल रिहाइका लागि उच्चस्तरीय कूटनीतिक पहलस् इजरायल, हमास तथा अन्य सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरूसँग तत्काल समन्वय गरी विपिनको अवस्था पत्ता लगाउन र उहाँलाई सकुशल रिहा गर्नका लागि हरसम्भव कूटनीतिक दबाब सिर्जना गरियोस्।

​ २- इजरायलमा रहेका विपिनका परिवारलाई आवश्यक मानसिक, नैतिक तथा कूटनीतिक सहयोग उपलब्ध गराइयोस् र उहाँहरूको लागि भइरहेका सबै प्रयासबारे नियमित रूपमा जानकारी गराइयोस्।

​भविष्यमा यस्ता घटना दोहोरिन नदिन सतर्कतास् विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा सुनिश्चित गर्नका लागि दीर्घकालीन रणनीति तथा कूटनीतिक संयन्त्रलाई थप सुदृढ गरियोस्।

​आशा छ, परराष्ट्र मन्त्रालयले यस ध्यानाकर्षण लाई गम्भीरतापूर्वक लिँदै विपिनको न्यायका लागि तत्काल ठोस कदम चाल्नेछ र नेपाली नागरिकको जीवनरक्षाका लागि आफ्नो कर्तव्य पूरा गर्नेछ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट