घोराही : दाङमा १२ हजार नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका दश स्थानीय तहका १२ हजार नागरिकलाई भदौ २ देखि ४ गतेसम्म कोभिड १९ विरुद्धको खोप लगाइने भएको हो ।
जिल्लाका विभिन्न स्थानीय तहमा भएका ९५ वटा खोप केन्द्रमार्फत १२ हजार नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति वलीले जानकारी दिनुभएको छ । उहाँका अनुसार घोराही उपमहानगरपालिकामा १५ वटा खोप केन्द्रबाट दुई हजार चार जना, तुलसीपुर उपमहानगरपालिकामा २५ वटा खोप केन्द्रबाट पाँच हजार चार जना, लमही नगरपालिकामा आठ वटा खोप केन्द्रबाट नौ सय ६० जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइनेछ ।
त्यसैगरी राप्ती गाउँपालिकामा नौ वटा खोप केन्द्रमार्फत एक हजार २० जना, गढवा गाउँपालिकामा नौ वटा खोप केन्द्रमार्फत एक हजार २० जना, राजपुर गाउँपालिकामा चार वटा खोप केन्द्रमार्फत दुई सय चार जना, बङ्गलाचुली गाउँपालिकामा आठ वटा खोप केन्द्रमार्फत तीन सय जना, बबई गाउँपालिकामा चार वटा खोप केन्द्रमार्फत दुई सय ९४ जना, शान्तिनगर गाउँपालिकामा पाँच वटा खोप केन्द्रमार्फत पाँच सय जना र दंगीशरण गाउँपालिकाका सात वटा खोप केन्द्रमार्फत छ सय ९६ जनालाई खोप दिइने खोप फोकल पर्सन वलीले बताउनुभयो।
उहाँका अनुसार फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट खोप १२ वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइनेछ । खोप फोकल पर्सन वलीले कोभिड–१९ विरुद्ध निश्चित औषधी उपचार नभएकाले सङ्क्रमणबाट बच्नका लागि खोप लगाउन नागरिकलाई आग्रह गर्नुभएको छ ।
उहाँका अनुसार हालसम्म प्रायः व्यक्ति कम्तीमा एक पटक कोभिड–१९ को सङ्क्रमण भएको अनुमान गरिएको बताउँदै भन्दै कोभिड–१९ को सङ्क्रमण भएका व्यक्तिमा रोगविरुद्धको प्रतिरोधात्मक क्षमता उच्च र लामो समयसम्म कायम रहने देखिएको बताउनुभयो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij