काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रूपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताउनुभएको छ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६६औँ वार्षिकोत्सवमा उहाँले प्रसूतिगृह नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “अस्पतालले सुरु गरेको नियोनेटल स्क्रिनिङ, मिल्क बैँकजस्ता कार्यक्रमले नवजात शिशुको मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु। सरकारले हालै ल्याएको निःसन्तान उपचार मापदण्डको सफल कार्यान्वयनमा यस अस्पतालको पुनःस्थापित आइभिएफ सेवाले नेतृत्वदायी भूमिका खेल्ने छ।”
मन्त्री पौडेलले भविष्यमा यस अस्पतालमा ११ शय्या थप गरेर ५०० शय्या बनाइने बताउनुभयो। उहाँले काठमाडौँका दुई नगरपालिकामा २५, २५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी गराउनुभयो। उहाँले स्त्रीरोग, आमा तथा शिशु सुरक्षा कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिने पनि बताउनुभयो।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले स्त्रीरोगसम्बन्धी दुरबिन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी र फेटल तथा मेटर्नल इको सेवाले रिफरल दर घटाएको बताउनुभयो। उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा मात्रै करिब २१ हजार सफल प्रसूति गराइएको र बहिरङ्ग विभागबाट दुई लाख ३३ हजारभन्दा बढीले सेवा लिएका छन्।”
उहाँले गत आवमा आठ हजार ६९३ जना निःसन्तान सम्बन्धी सेवाग्राहीहरूले ओपिडीबाट सेवा लिएको बताउनुभयो। कुल २९८ जना महिलाले आइयुआई सेवा र ४३ जना निःसन्तान सेवाग्राहीहरूले आइभिएफ सेवा लिएको जानकारी गराउनुभयो।
डा. अधिकारीले ‘नियोनेटल स्क्रिनिङ टेष्ट’ बाट हालसम्म यस अस्पतालमा करिब दुई हजार नवजात शिशुहरूको परीक्षण गरिएको र सोमध्ये २० जना नवजात शिशुहरुको विभिन्न रोगको पहिचान गरी उपचार गरिएको छ। यो टेस्टले भ्रुण तथा गर्भमा रहेको शिशुको आनुवांशिक रोगको निदान गर्न सहज भएको छ।
यो अस्पताल विसं २०१६ भदौ १० गते श्रीकृष्ण जन्माष्टमीको दिनमा ४० शय्याबाट परोपकार संस्थाले स्थापना गरेकोे हो। देशको एकमात्र महिला स्वास्थ्यसम्बन्धी यो केन्द्रीय विशिष्टीकृत अस्पताल हाल ४८९ शय्या सञ्चालनमा रहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij