मुम्बई : सन् १९९१ मा रिलिज भएको बलिउड फिल्म ‘साजन’ का निर्देशक लरेन्स डिसुजाले हालै आफू अन्डरवर्ल्ड ग्याङ्स्टरहरूको निशानामा परेको खुलासा गरेका छन्। सलमान खान, सञ्जय दत्त र माधुरी दीक्षित अभिनीत उक्त फिल्म सुपरहिट भए पनि, डिसुजाको जीवनमा सन् २००३ मा बनाएको ‘इन्डियन बाबु’ पछि ठुलो सङ्कट आएको उनले बताएका छन्।
अमर उजालालाई दिएको अन्तर्वार्तामा डिसुजाले भने, ‘त्यो समय नयाँ कार वा फ्ल्याट किन्नु पनि खतरनाक थियो।’ उनले १४ लाखमा खरिद गरेको मित्सुबिशी लान्सर कार लगातार धम्कीपछाडि मात्र ५ लाखमा बेच्नुपरेको अनुभव साझा गरे।उनका अनुसार, ‘इन्डियन बाबु’ को लागत करिब ४ करोड रुपैयाँ थियो, जसको जानकारी ग्याङ्स्टरहरूसम्म पुग्यो। त्यसपछि उनलाई घरमै फोन गरेर १.५ करोड रुपैयाँ माग्न थालियो।
डिसुजाले भने, ‘एक दिन गीतको एडिटिङ गर्दै गर्दा फोन आयो। उताबाट आवाज आयो– ‘म एजाज लकडवाला बोल्दैछु। मैले सोचेँ मजाक होला र काटिदिएँ। पछि उनले बारम्बार फोन गर्न थाले।’
थप केही सातापछि उनी आफ्नो अफिसको बाहिर चौरमा बसिरहेका बेला मोटरसाइकलमा आएका व्यक्तिले दुई राउन्ड गोली चलाए। तर, गेटमा रहेको ऐक्रेलिक सिट र मदर म्यारीको मूर्तिले ज्यान जोगाइदियो।’ केही समयपछि फोन र धम्की बन्द भए र घटना शान्त भएको उनले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij