काठमाडौँ : नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको उपस्थितिमा मङ्गलवार काठमाडौँस्थित भारतीय दूतावासमा भारतको ७९ औँ स्वतन्त्रता दिवस मनाइएको छ। कार्यक्रमको सुरुवात नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झन्डा फहराउँदै गरेका थिए ।
त्यसपछि भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा राष्ट्रका नाममा गर्नुभएको सम्बोधन प्रस्तुत गरिएको थियो । जसमा विगत ७८ वर्षमा भारतले गरेका उल्लेखनीय प्रगतिहरूको चर्चा थियो।
सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका दिवङ्गत सदस्यका पत्नी तथा निकटतम नातेदारलाई सम्मान गर्दै कुल नेरु ६.४ करोडको आर्मी ग्रुप इन्स्योरेन्स फन्डको चेक हस्तान्तरण गरेका छन् ।
दूतावासले नेपालका सातै प्रदेशका २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था तथा पुस्तकालयलाई पुस्तक अनुदान दिने घोषणा पनि गरेको छ। यस पहलले विशेष गरी दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्रीमा पहुँच वृद्धि गर्ने लक्ष्य राखेको दूतावासले जानकारी दिएको छ।

कार्यक्रममा दूतावासका अधिकारी र उनीहरूको परिवार, नेपालमा रहेका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौँका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij