Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

रुपन्देही उप–निर्वाचनमा ‘बालेन तरङ्ग’ : सल्लाहकार मैदानमा, समर्थन अस्पष्ट

रुपन्देही उप–निर्वाचनमा ‘बालेन तरङ्ग’ : सल्लाहकार मैदानमा, समर्थन अस्पष्ट

काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराको निधनपछि रिक्त रहेको रुपन्देही क्षेत्र नम्बर ३ को उप–निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।

प्रमुख दलहरूले प्रतिष्ठाको विषय बनाएको यस निर्वाचनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नाम जोडिएपछि चुनावी माहौल थप तरङ्गित बनेको हो । मेयर शाहका सल्लाहकारहरूले उम्मेदवारीमा चासो देखाएपछि बालेनको समर्थन कसलाई भन्ने विषयले रुपन्देहीको राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ ।

  • गिरीको उम्मेदवारी, बालेनको ‘सद्भाव’

मेयर बालेन शाहका खाद्य सल्लाहकार समेत रहेका सन्तोष गिरीले आफ्नो उम्मेदवारी मेयर शाहको सद्भाव र सरसल्लाहमा नै अघि बढेको दाबी गरेका छन् । आगामी कात्तिक १७ गते हुने उप–निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी अभियानमा होमिएका गिरीले आफूलाई मेयर बालेनसहित सम्पूर्ण टिमको नैतिक समर्थन रहेको बताउँछन् ।

balen-santosh-giri

उनले भने, ‘म आफैँ स्वतन्त्र उम्मेदवार भएको हुनाले कुनै दल वा संगठनको आधिकारिक समर्थन हुने कुरा भएन । तर मेयर साहबको सद्भाव, सरसल्लाह नै भएर अगाडि बढेको भन्नुपर्छ ।’

‘मेयर साहब मात्र होइन कि, अब हामी सबै टिम भन्नु पर्‍यो। टिमका सबै साथीहरूको मलाई जिताउनुपर्छ भन्ने सद्भाव छ,’ उनले थपे ।

गिरीले पुराना दलहरूको कार्यशैलीबाट जनता वाक्क भइसकेको र परिवर्तनको पक्षमा देखिएको बताए । ‘माहौल राम्रै छ, मान्छे परिवर्तनको पक्षमा देखिरहेका छन् । पुराना दलहरूप्रतिको वितृष्णा प्रस्ट छ,’ उनले भने ।

  • अर्याल पनि मैदानमा उत्रिने तयारीमा

मेयर बालेनका कानुनी सल्लाहकारको रूपमा काम गरेका चर्चित कानुन व्यवसायी ओमप्रकाश अर्यालले पनि रुपन्देही–३ को उप–निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उनले महानगरको जिम्मेवारीबाट अलग भएर चुनावी तयारी रहेको पुष्टि गरेका छन् ।

‘अब मैले अलि फराकिलो दायराबाट राष्ट्र र समाजको सेवा गर्नुपर्ने महसुस गरेँ । अधिवक्ताको रूपमा मात्रै नभएर देशलाई धेरै योगदान दिन सक्ने ठाउँमा पुग्नुपर्छ,’ उनले भने ।

यद्यपि, उनले हतारमा निर्णय नलिने बताएका छन् । ‘म एकदमै वस्तुनिष्ठ भएर, सबैको राय–सल्लाह लिइरहेको छु । फिल्डमा गएर अवस्था हेर्छु । आफ्नो व्यक्तित्वले त्यहाँ कुनै मूल्य राख्छ भने मात्र जाने हो, हावाको भरमा निर्णय हुँदैन,’ उनले भने । अर्यालले मेयर बालेनसँग आफ्नो सम्बन्ध सुमधुर रहेको र सहकार्य निरन्तर रहने पनि स्पष्ट पारे ।

बालेन सचिवालय भन्छ ‘समर्थनको निर्णय भएको छैन’

एकातिर बालेनका निकटस्थहरूले उनको नाम लिँदै चुनावी मैदानमा होमिने तयारी गरिरहँदा, मेयर शाहको सचिवालयले भने आधिकारिक रूपमा कुनै पनि उम्मेदवारलाई समर्थन नगरेको स्पष्ट पारेको छ ।

बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘उहाँहरू दुवै जनाको भूगोल त्यही क्षेत्र भएको र महानगरसँग जोडिएकोले चर्चा हुनु स्वाभाविक हो, तर हामीले कसैलाई आधिकारिक रूपमा उम्मेदवार घोषणा गरेका छैनौँ ।’

यस्तै, बालेनका सचिवालय सदस्य तथा भौतिक पूर्वाधार सल्लाहकार इन्जिनियर सुनिल लम्साल हाल रुपन्देहीमै छन् । उम्मेदवार सन्तोष गिरीसँगै देखिएका उनले पनि बालेन टिमको तर्फबाट कुनै उम्मेदवारी नरहेको बताए ।

‘मेरो घर नै रुपन्देही हो, त्यसैले यतै छु, चुनावको लागि आएको होइन। बालेन टिमको उम्मेदवारीको हल्लामा सत्यता छैन, त्यस्तो केही निर्णय भएको छैन,’ लम्सालले भने ।

दलहरूको दौडधुप र प्रतिष्ठाको लडाइँ

सरकारले उप–निर्वाचनको मिति तोकेसँगै कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले आफ्ना गतिविधि तीव्र पारेका छन् । सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी कांग्रेस दुवैले यो चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन् । रास्वपाले पनि बलियो उम्मेदवार उठाएर एमाले–कांग्रेसलाई चुनौती दिने तयारी गरेको छ ।

बालेनको नाम जोडिएका स्वतन्त्र उम्मेदवारहरूको प्रवेशले यो निर्वाचन थप रोचक बनेको छ । एकातिर दलहरूको संगठनात्मक शक्ति र अर्कोतिर बालेन ‘फ्याक्टर’ बोकेका स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले रुपन्देही–३ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट