Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

वामदेव र रामकुमारीबारे निर्णय गर्न माधवले बोलाए बैठक

वामदेव र रामकुमारीबारे निर्णय गर्न माधवले बोलाए बैठक

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले शुक्रवार बिहान ११ बजेपछि पार्टी कार्यालय आलोकनगरमा बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् ।

आन्तरिक किचलोमा रुमल्लिएको एकीकृत समाजवादीले यसअघि भदौ ७, ८ लाई बोलाएको केन्द्रीय समिति बैठक २० दिन पछि सारेर भदौ २७ र २८ मा पुर्‍याएको थियो । शुक्रवार बस्ने सचिवालय बैठकमा नेता वामदेव गौतमको जिम्मेवारी, नेतृ रामकुमारी झाँक्रीको आत्मालोचना, वामपन्थी पार्टीबिच एकता र सहकार्यका लागि भएको प्रगतिलगायत समसामयिक विषय छलफलका एजेन्डा रहेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

यसअघि नेतृ झाँक्रीले माधव नेपालबाट पार्टी चल्न नसक्ने भन्दै कटाक्ष गरेकी थिइन् । त्यसक्रममा उनले प्रयोग गरेका शब्दप्रति नेताहरूले आपत्ति जनाएका थिए । त्यसपछि उनलाई लिखित आत्मालोचना गर्न निर्देशन दिइएको थियो ।

आफ्नो अभिव्यक्तिप्रति लिखित रूपमै आत्मालोचना गरेकाले झाँक्रीलाई आइन्दा त्यस्तो अभिव्यक्ति नदिने गरी सचेत गराएर छुट दिने तयारी भएको बताइएको छ । त्यस्तै पार्टी प्रवेश गरेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमको जिम्मेवारीका बारेमा समेत छलफल गर्ने एकीकृत समाजवादीको तयारी छ ।

गौतमले संगठन विभागको जिम्मेवारी पाउनुपर्ने चाहाना राखेपनि नेता बेदुराम भुसालले तत्काल उक्त जिम्मेवारी छाड्न नचाहेपछि किचलो हुँदै आएको छ । गौतम गत साउन २ गते एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट