चितवन, २९ साउन : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण (बोनम्यारो ट्रान्सप्लान्ट) युनिट निर्माण गरी सञ्चालन गर्ने विषयमा अध्ययन गर्न चिनिया चिकित्सक विशेषज्ञ टोली यहाँ आएको छ । अस्पतालमा आज आयोजित एक कार्यक्रममा टोलीलाई स्वागत गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार आज आएको विज्ञ टोलीले अस्पतालका बोनम्यारो प्रत्यारोपण गर्नका लागि आवश्यक पर्ने अन्य सहायक विभागहरुको अध्ययन गर्ने छ । सघन उपचार कक्ष, रेडिएसन अंकोलोजी, प्रयोगशाला, मेडिकल अंकोलोजी, रेडियोलोजी लगायतका विभागको अहिलेको अवस्था र यसबाट बोनम्यारो प्रत्यारोपणका लागि हुन सक्ने सहयोगका बारेमा टोलीले अध्ययन र छलफल गर्ने डा. पौडेलले कान्तिपुर हेल्थलाई बताउनुभयो ।
चीनबाट नियमित रुपमा यहाँ आउने चिकित्सक टोलीको यस अघिको १५ औं टोलीका प्रमुख चाहु क्वीमिङ्गको नेतृत्व सात सदस्य विज्ञ चिकित्सक टोलीमा सहभागी रहेको डा पौडेलले बताउनुभयो ।
चिनिया टोलीलाई आज अस्पतालमा स्वागत गर्दै सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले यथासक्य छिटो बोनम्यारो प्रत्यारोपणको काम सम्पन्न गरेर बिरामीलाई सेवा दिने वातावरण निर्माण गरिदिन आग्रह गर्नुभयो । उहाँले यसै आर्थिक वर्षभित्र भवन निर्माणको काम शुरु गर्न आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो “क्यान्सर अस्पतालको मात्रै नभएर नेपाल सरकारकै कार्यक्रम भएकाले समयमा नै काम हुनेमा म विश्वस्त छु ।” अस्पतालका तर्फबाट गर्नुपर्ने सम्पूर्ण सहयोगमा आफूहरु सधैं तयार रहेको उहाँको भनाई थियो ।
सो अवसरमा चिनिया टोलीका नेता क्वीमिङ्ग र अहिले क्यान्सर अस्पतालमा रहेका १६ औं चिनिया चिकित्सक टोलीका प्रमुख (टिम लिडर) यान ल्याङले बोनम्यारो प्रत्यारोपणको पूर्व तयारी स्वरुप सम्बन्धित विभागहरुमा रहेर पाँच दिनसम्म अध्ययन अवलोकन र अन्तक्र्रिया गरिने बताउनुभयो । उहाँहरुले अन्य विभागहरुमा पनि के के कुराको थप आवश्यकता छ भन्ने कुरा पहिचान गर्नुहुनेछ ।
सो अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले अस्पतालको प्रशासनिक भवन नजिकै बोनम्यारो प्रत्यारोपणका लागि आधुनिक दुई तले भवन निर्माण हुने बताउनुभयो । भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी वातावरणीय प्रभाव मूल्याङ्कनका लागि वन तथा वातावरण मन्त्रालयमा फाईल पुगेर अन्तिम चरणको काम भईरहेको छ । उहाँका अनुसार एउटा अन्तक्र्रिया र स्थलगत अनुगमनपछि मन्त्रालयले पत्र दिने छ । उहाँले भन्नुभयो “सम्भवत अबको एक दुई सातामा यो काम सम्पन्न हुन्छ ।”
वातावरणीय प्रभाव मूल्यांकनका लागि अस्पतालमा रहेका २९ वटा भवनको अभिलेखिकरण गरी नक्सा पास समेत गरिएको छ । अस्पताल भवन निर्माण गर्ने समयमा कुनै पनि भवनको नक्सापास नरहेको भन्दै कार्यकारी निर्देशक डा. पौडेलले भन्नुभयो “२९ वटा भवनको महानगरमा अभिलेखिकरण गर्न महानगरपालिकालाई रु. एक करोड ७८ लाख राजश्व आन्तरिक स्रोतबाट बुझाएका छौं ।”
चिनिया टोलीलाई समेत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन आवश्यक हुने भन्दै डा. पौडेलले यो काम सम्पन्न भएपछि चिनिया तर्फबाट निर्माणको काम थालिने हुने बताउनुभयो । उहाँले अगाडि थप्नुभयो “ढिलोमा तीन वर्षभित्रमा बोनम्यारो प्रत्यारोपणको काम शुरु हुने चिनिया टोलीले जानकारी दिएको छ ।”
शुरुमा चार शैयाको केन्द्र बन्ने छ । यसबाट एक वर्षमा ५० जना हाराहारीको बोनम्यारो प्रत्यारोपण गर्न सकिने अस्पतालका मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरु शरण साहले बताउनुभयो । उहाँका अनुसार नेपालमा वार्षिक एक सय जना हाराहारीलाई बोनम्यारो प्रत्यारोपण गर्नुपर्नै आवश्यकता छ । बिरामीहरु अहिले अधिकांश भारतका अस्पतालहरुमा जाने गर्दछन् । जसका लागि अस्पतालहरुले एक जनाको भारतीय रुपैयाँ २० लाख हाराहारी लिने गर्दछन् । यसका अतिरिक्त भारत आउजाउ, बिरामी कुरुवाको बसाई र अन्य खर्च समेत गर्दा ठूलो रकम खर्च भईरहेको डा. साहको भनाई छ ।
यहाँ बोनम्यारो प्रत्यारोपण सेवा भएपछि उपचार खर्च पनि कम हुने उहाँले बताउनुभयो । अस्पतामा बोनम्यारो प्रत्यारोपणका लागि चीन सरकारले भवन, आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनको समेत काम गर्ने छ । बोनम्यारो प्रत्यारोपण तालिमका लागि यसै अवधिमा यहाँका चिकित्सक समेत चीन गएर तालिम लिने कार्यक्रम रहेको छ ।
यहाँ बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र निर्माण गर्न साउन ५ गते अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौतामा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्ष चेनले हस्ताक्षर गर्नुभएको थियो ।
परियोजनाअनुसार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १८३४ वर्ग मिटर क्षेत्रमा बोनम्यारो ट्रान्सप्लान्ट केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुने उल्लेख छ ।
के हो बोनम्यारो प्रत्यारोपण ?
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अंकोलोजी विभागका प्रमुख मेडिकल अंकोलोजिष्ट डा. गुरु शरण साहले गुरुहड्डीभित्र हुने बोनम्यारोमा रातो रक्तकोष (आरबीसी), सेतो रक्तकोष (डब्लुबीसी) र प्लेटलेट्स बन्ने कान्तिपुर हेल्थलाई बताउनुभयो । उहाँका अनुसार रातो रक्तकोषले हेमोग्लोबिन र श्वासप्रश्वासमा मद्दत गर्छ भने सेतो रक्तकोष अर्थात् डब्लुबीसीले रोग प्रतिरोधात्मक क्षमतामा काम गर्छ ।
तर विभिन्न रक्तजन्य रोगहरूले बोनम्यारोको नियमित काममा अवरोध गरिदिन्छ । बोनम्यारोमा बन्नुपर्ने आरबीसी, डब्लुबीसी र प्लेटलेट्स बन्न पाउँदैन । यस्तो अवस्थामा मानव शरीर सञ्चालनका लागि अत्यावश्यक रगत बन्न पाउँदैन । यस्तो अवस्थामा बोनम्यारो प्रत्यारोपण गर्न मिल्ने डा. साहको भनाई छ । यस्ता समस्या हुनेहरूलाई बोनम्यारो प्रत्यारोपण गरेर स्वस्थ बनाउन सकिन्छ ।
बोनम्यारो ट्रान्सप्लान्ट भन्नाले शरीरमा भएको अस्वस्थ बोनम्यारोलाई नष्ट गरेर अर्को स्वस्थ बोनम्यारो राख्ने प्रक्रिया भन्ने बुझिन्छ । खासगरी बोनम्यारो प्रत्यारोपण क्यान्सर रोग र अन्य रगतरोगमा गरिन्छ । यसैगरी एप्लास्टिक एनिमिया, थालेसेमिया, सिकल सेल एनिमिया तथा ल्युकेमिया, मल्टिपल माइलोमा जस्ता रोगमा बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने हुन्छ ।
रक्त क्यान्सरका बिरामी, जो किमोथेरापीबाट निको हुँदैनन् वा क्यान्सर बल्झिएको छ र उपचार गरिरहँदा पनि शरीरमा क्यान्सरका कोषिकाहरु कम नभएमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुन्छ । साथै थालासेमिया वंशाणुगत रोग लागेमा, वंशाणुगतकै कारण बोनम्यारो फेल भएको अवस्थामा पनि बोनम्यारो प्रत्यारोपण गर्नुको विकल्प नहुने चिकित्सकहरु बताउँछन् । बोनम्यारो ट्रान्सप्लान्ट रगतरोग र रक्त क्यान्सरको एक मात्र पूर्ण उपचार हो ।
कसरी हुन्छ बोनम्यारो ट्रान्सप्लान्ट ?
विशेषज्ञहरूको टिमले दिने विशिष्ट प्रकारको सेवा हो बोनम्यारो प्रत्यारोपण । बोनम्यारो प्रत्यारोपण विभिन्न तरिकाबाट गर्न सकिन्छ । पहिलो व्यक्ति स्वयंको शरीरको अन्य भागको कोषिका प्रयोग गरेर गर्न सकिन्छ । जसलाई अटोलोगस रगत ट्रान्स फ्युजन भनिन्छ । यदि यो सम्भव नभएमा परिवारको सदस्यबाट स्टेमसेल लिइन्छ । जस्तै दाजुभाइ, दिदीबहिनीबाट लिने गरिन्छ र बिरामीलाई दिने गरिन्छ ।
अर्को अम्बिलिकल कर्ट अर्थात् नाभी । बच्चाहरू जन्मिने बित्तिकै उसको नाभीबाट जुन अम्बिलिकल कर्ट हुन्छ, त्यसलाई जोगाएर राख्न सकिन्छ । यदि त्यो जोगाएर राखेको छ भने त्यसमा एचएलए मिलाउन सकिन्छ । यसबाट पनि भएन वा स्टेमसेल चिन्दै नचिनेको मान्छेहरूको पनि प्रयोग गरिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij