राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सह-कोषाध्यक्ष दीपक बोहरालाई पदबाट हटाएको छ। यससँगै अब बोहरा केन्द्रीय सदस्य मात्रै रहने छन्। रास्वपाले निर्वाचन आयोगलाई अद्यावधिक गर्नका लागि दिएको निवेदनअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नाम अद्यावधिक भएको छ। निर्वाचन आयोगले अद्यावधिक गरेको नयाँ नामावली रास्वपालाई उपलब्ध गराइसकेको छ। उक्त सूचीअनुसार बोहरा सह-कोषाध्यक्षबाट केन्द्रीय सदस्यमा घटुवा भएका छन्।
त्यसो त यसअघि बसेको रास्वपा बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले बोहरालाई सह-महामन्त्रीमा बढुवाको प्रस्ताव गरेका थिए तर, डा. तोसिमा कार्की, सोबिता गौतमलगायतका नेताहरूले विरोध गरेपछि त्यो प्रस्ताव थाँती रह्यो। स्रोतका अनुसार उनीहरूले महिलालाई दिइएको पदमा महिलालाई नै स्थान दिइनुपर्ने बताएका थिए।
यसअघि सह-महामन्त्री पदमा सुमना श्रेष्ठ थिइन्। 'एक व्यक्ति, एक पद'को मर्म भन्दै सुमनाले राजीनामा दिएकी थिइन्। संयोग नै मान्नुपर्ला; उनकै स्थानमा बढुवा गर्ने प्रस्तावको केही दिनमा नै बोहराको सह-कोषाध्यक्ष पद पनि रहेन।
यसबारे पार्टी प्रवक्ता मनीष झासँग जिज्ञासा राख्दा एक जना मात्रै सह-कोषाध्यक्ष राख्ने पार्टीको नीतिअनुरूप बोहरालाई पदबाट हटाइएको प्रतिक्रिया दिए। रास्वपामा बसुमाया तामाङ सह-कोषाध्यक्ष छिन्। पहिले तामाङसहित बोहरा पनि सह-कोषाध्यक्ष नै थिए। 'एक जना मात्रै सह-कोषाध्यक्ष राख्ने पार्टीको नीतिअनुरूप उहाँलाई पदबाट हटाइएको हो,' प्रवक्ता झाले भने, 'अन्यथा केही होइन।'
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij