काठमाडौँ : पार्टीले विधान मस्यौदामाथि मागेको सुझाव अनुसार नेकपा एमाले बागमती प्रदेश कमिटीले मातहतका निकायसँग धमाधम सुझाव सङ्कलन गरिरहेको छ । त्यसैक्रममा प्रदेश कमिटीले बुधवार प्रदेशभित्रका पालिका इन्चार्जसँग सुझाव मागेको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले जानकारी दिए ।
यसअघि सचिवालयसँग छलफल गरेको प्रदेशले बिहीबार जनसङ्गठनका इन्चार्जसँग सुझाव लिने तयारी रहेको अध्यक्ष ढुङ्गेलको भनाइ छ । ‘समग्रमा पार्टीलाई मिलाएर लानुपर्छ भन्ने सुझाव र धारणाहरू आएका छन्’, ढुङ्गेलले भने– ‘विधिसम्मत पार्टी चल्नुपर्छ र पार्टीका फैसलाहरू मान्नुपर्छ भन्ने नै छ ।’
कतिपय सुझावकर्ताहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता कायम नभएको भन्ने पार्टीको निर्णयमा पुनर्विचार गर्नुपर्ने धारणा समेत राखेको बताइएको छ ।
‘पार्टीलाई बलियो र सशक्त बनाउने अनि मिसन ८४ पुरा गर्ने हो भने पूर्व राष्ट्रपति भण्डारीलाई समेत विश्वासमा लिनुपर्ने आवश्यकता छ भन्ने एंगलबाट पनि सुझाव आएका छन्’, एक जना पालिका इन्चार्जले भने– ‘स्वभाविक रूपमा उहाँको सदस्यतामा विवाद गर्ने होइन, कायम गरेर जानुपर्छ ।’
नेकपा एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने भन्दै उनको सदस्यता कायम नभएको निर्णय गरेको थियो ।
नेकपा एमालेले भदौ १० गतेभित्र विधान मस्यौदामाथि सुझाव पठाउन मातहतलाई सर्कुलर जारी गरेको थियो । भदौ २० देखि २२ गतेसम्म एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ । जसअन्तर्गत विधानका केही व्यवस्था परिवर्तन गर्ने मस्यौदा तयार पारेर एमालेले तल्ला कमिटीहरूबाट सुझाव मागेको हो । ती सुझावलाई समेत समेटेर विधान महाधिवेशनले विधान पारित गर्नेछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij