काठमाडौँ : सहकारी ठगी प्रकरणमा हाल थुनामा रहेका रास्वपाका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्री रमेश लेखक र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई लक्षित गर्दै प्रश्नसहितको लामो स्ट्याटस सार्वजनिक गरेकी छन् । उनले श्रीमानमाथि भएका कानुनी कारबाही र अदालतको प्रक्रियामा सरकारी हस्तक्षेप भएको आरोप लगाउँदै न्यायको सवालमा गम्भीर प्रश्न उठाएकी छन् ।
निकिताले फेसबुकमा अदालतले आदेश दिए पनि गृहमन्त्रीको निर्देशनमा त्यसको कार्यान्वयन रोक्ने, मुद्दा पेशीमा चढ्ने बित्तिकै न्याय परिषद्मा उजुरी पुर्याउने र उजुरीको ड्राफ्ट समेत गृहमन्त्रीको कार्यकक्षमै तयार गर्ने कार्य भइरहेको दाबी गरेकी छन्। उनले गृहमन्त्रीको सचिवालयबाट समाचारको लिङ्क मोबाइलमा पठाइएर न्यायाधीशलाई धम्क्याउने प्रयास भएको आरोप लगाइन् ।
'मुद्दाको पेशी चढेकै दिन न्याय परिषद्मा उजुरी पुग्छ भने कुन न्यायमूर्तिले आफ्नो करियरलाई दाउमा राखेर सही फैसला गर्ने आँट गर्ला ?’ उनले प्रश्न गर्दै अदालतलाई खुलेआम धम्की दिने साहस गृहमन्त्रीलाई कहाँबाट आएको हो भनेर पनि सोधेकी छन् ।
निकिताले रुपन्देही कारागारमा श्रीमान भेट्न जाँदा आफूलाई पछ्याउने, अदालतको आदेश आउँदा अस्वाभाविक गतिविधि हुने, दिउँसो बहस सकिँदा पनि रातसम्म आदेश नआउने, आदेशमा ‘कपी–पेस्ट’ हुने र मिडिया ट्रायल चलाउनेजस्ता गतिविधि भएको दाबी गरेकी छन् ।
सर्वोच्च अदालतले समान प्रकृतिका मुद्दामा धरौटीमा छोड्ने नजिर स्थापित गरे पनि रवि लामिछानेलाई निरन्तर थुनामा राखिएको उनले उल्लेख गरिन्। उनले प्रधानन्यायाधीशलाई प्रश्न गर्दै भनेकी छन्, ’अब म जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्न जाउँ कि नजाउँ ?’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij