काठमाडौँ : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ । रामेछाप, खाँडादेवी गाउँपालिका-४ पुचिघाटस्थित सडकमा बेनीबाट सित्खातर्फ आउँदै गरेको ना.६ त ९५९१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय दिनेश माझीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको दिलश्री मेडिकल मन्थलीमा उपचार भइरहेको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१८ दुधराशस्थित सडकमा लु.प्र.०२-००१ प ११२१ नम्बरको मोटरसाइकल र लु. ३४ प ५४०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा लु.३४ प ५४०६ नम्बरको मोटरसाइकल चालक राप्ती गाउँपालिका-५ बस्ने ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु प्र.०२-००१ प ११२१ नम्बरको मोटरसाइकल चालकको सिटी हस्पिटल तुलसीपुरमा उपचार भइरहेको छ ।
महोत्तरी, मनरा शिसवा नगरपालिका-४ स्थित सडकमा बीआर ०६ बिके ४७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महोत्तरी गाउँपालिका-६ बस्ने ५० वर्षीया मोमिना खातुनको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, अग्नीसाइर कृष्णासवरन गाउँपालिका-६ महुली बजारस्थित सडकमा जण्डोलबाट कञ्चनपुरतर्फ जाँदै गरेको बा.३२ प ३६०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार कञ्चनरूप नगरपालिका-११ गिदहा बस्ने ३२ वर्षीया शशिकला चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाही, हरिवन नगरपालिका-१० सुखेपोखरीस्थित सडकमा प्र.२-०३-०१९ प ५४०८ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१० ताइवान बस्ने दिनेश बुढाथोकीकी छोरी १५ वर्षीया दीपिका बुढाथोकीको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि वीरगंजतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij