रौतहट : मधेस प्रदेशमा रासायनिक मलको सङ्कट र यसमा भइरहेको कालोबजारीप्रति आम जनता पार्टी (आजपा) ले सरकारको ध्यानाकर्षण गराएको छ। बाराको बेलहियामा सम्पन्न पार्टीको बैठकमा प्रदेश अध्यक्ष उमेश कुशवाहाले सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको भन्दै आक्रोश व्यक्त गरे।
अध्यक्ष कुशवाहाले भने, "राज्यले मधेस प्रदेशका किसानहरूलाई आवश्यक मल-खाद उपलब्ध गराउन पूर्ण रूपमा असक्षम देखिएको छ। बजारमा डीएपी र युरिया मलको व्यापक कालोबजारी भइरहेको छ र सरकार मौन छ।"
उनका अनुसार, सरकारले अनुदान दिएर डीएपी मलको मूल्य २४ सय रुपैयाँ तोके पनि केही सहकारी संस्थाहरूले डिलर लिएर खुलेआम ३४ सय रुपैयाँमा बेचिरहेका छन्। किसानहरू यसरी कालोबजारीको मारमा परेको भन्दै कुशवाहाले अनुदानको नाममा ठगी गर्नेहरूलाई तत्काल कारबाही गर्न माग गरेका छन्।
प्रसौनी गाउँपालिका इन्चार्ज गणेश रामको अध्यक्षतामा र प्रदेश अध्यक्ष उमेश कुशवाहाको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त बैठकले कृषि मलको अभाव र कालोबजारीले मधेसका किसानको उत्पादनमा नकारात्मक असर परिरहेको भन्दै यसलाई राज्यको असक्षमताको रूपमा लिएको छ। पार्टीले दोषी डिलर र सहकारीहरूलाई कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij