काठमाडौँ : सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा निर्माण हुने बझाङ माथिल्लो सेती आयोजनाको लागि शुक्रबार कुमारी बैंक लिमिटेडको नेतृत्वमा तथा एनएमबी बैंक लिमिटेडको सह-नेतृत्वमा लगानी व्यवस्थापन भएको हो ।
यसको सह लगानी माछापुच्छ्रे बैंक, हाइड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबीआई बैंक, एनआइसी एसिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसीएफसी फाइनान्स रहेका छन् ।
काठमाडौँमा आयोजित एक विशेष समारोहबिच कुमारी बैंक र आयोजनाको प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबिच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवर्द्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका छन् ।नेपालका प्रमुख वाणिज्य बैंकहरू मध्येको एक कुमारी बैंकले हाल ऊर्जा क्षेत्रको विकासमा केन्द्रित हुँदै विभिन्न ६५ भन्दा बढी जलविद्युत तथा सौर्य ऊर्जा परियोजनाहरूमा लगानी गर्दै आएको छ । बैंकले हालसम्म ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी गरी (प्रतिबद्धतासहित) २ हजार मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरूको वित्तीय व्यवस्थापनमा (सह वित्तीयकरण अन्तर्गत समेत) योगदान गरिसकेको छ । जसमध्ये केही सञ्चालनमा रहेको र अरू विभिन्न निर्माणाधीन चरणहरूमा रहेका छन् । यी परियोजनाहरूले राष्ट्रिय प्रसारण लाइनमा विद्युत् आपूर्ति बढाउन महत्त्वपूर्ण योगदान पुऱ्याइरहेका छन् ।
उक्त आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाउन लागिएको छ । यसका लागि आयोजनाको आवश्यक वित्तीय पूर्वतयारी र ड्यु डिलिजियन्स स्टडी समेत सम्पन्न भइसकेको छ। यो आयोजना अर्ध जलाशययुक्त नदी प्रवाह प्रणालीमा आधारित छ, जसमा ४.५ घण्टाको पिकिङ्ग क्षमता रहनेछ । आयोजनाको डिजाइन ३४.१ घनमिटर प्रतिसेकेन्ड रहेको छ भने ग्रस हेड ७५८.९ मिटर र नेट हेड ७३५.६ मिटर रहेको छ ।
आयोजनाको बाँधभन्दा तल जैविक बहाव कायम राख्न वर्षभर १.४१ घन मिटर प्रति सेकेन्ड पानी सेती नदीमा निरन्तर छोडिने व्यवस्था गरिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग २०८० साउनमा विद्युत् खरिद सम्झौता २०८१ वैशाखमा विद्युत् उत्पादन अनुमति प्राप्त भइसकेको छ । आयोजना ५ वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गतेभित्र व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य सहित अघि बढाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij