Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

को होला नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्ष ?

को होला नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्ष ?

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले आज नयाँ अध्यक्ष चयन गर्ने भएको छ । हिजोदेखि सुरु भएको राष्ट्रिय भेलाले पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको छ । सो ठाउँमा आज नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नागरिक उन्मुक्ति पार्टीका नेता रामलाल डंगौराले आजको बैठकले नयाँ अध्यक्ष चयन गर्ने बताए ।

‘अध्यक्ष को हुने त्यो यसै भन्न सकिने अवस्था छैन तर आज कोही एक जनालाई अध्यक्षमा चयन गरी निर्वाचन आयोगलाई जानकारी गराउने तयारी छ’ उनले भने– ‘राष्ट्रिय भेलामा उपस्थित सबै जना अध्यक्षका आकाङ्क्षी छन्, त्यसमध्ये एक जनालाई अध्यक्षमा चयन गर्ने छौँ ।’

अध्यक्षमा लालवीर चौधरीको चर्चा व्यापक छ । लालवीर रेशम चौधरीका बुवा पनि हुन् । उनले स्वतन्त्रबाट चुनाव जितेका थिए । पार्टीमा उनलाई अभिभावकको भूमिकामा राखिएको छ । अध्यक्षका लागि विवाद देखिएको हुनाले अर्को महाधिवेशनसम्मका लागि लालवीरलाई अध्यक्ष बनाउने चर्चा पनि पार्टीमा छ ।

नेता डंगौराले भने– ‘लालवीरजीको पनि चर्चा छ, अरू अरूको पनि चर्चा छ, चर्चा हुनु स्वभाविक पनि हो, तर अध्यक्ष कसलाई बनाउने अधिकार राष्ट्रिय भेलालाई छ ।’ डंगौरा आफू पनि अध्यक्षको आकाँक्षी रहेका छन् ।

लालवीरलाई अध्यक्ष बनाउने विषयमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कुनै धारणा राखेका छैनन् । हिजो बैठकपछि सञ्चारकर्मीसँग उनले भनेका थिए, ‘अध्यक्ष कसलाई बनाउने हो, त्यो अधिकार राष्ट्रिय भेलालाई छ, लालवीर चौधरी बन्नुपर्छ भने मेरो चाहना होइन, उहाँ नबन्दा नै राम्रो तर सबैको चाहना भयो भने उहाँ पनि बन्न सक्नुहुन्छ, अरू पनि आकाङ्क्षी हुनुहुन्छ ।’ आज पुरानो बानेश्वरमा दोस्रो दिनको राष्ट्रिय भेला सुरु हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट