काठमाडौँ : राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत रानी, जमरा र कुलरियातर्फ १४ हजार ३०० हेक्टर क्षेत्रफलमा सिँचाइ उपलब्ध गराउने प्रणाली तयार भएको छ । मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त आयोजनाको सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको उद्घाटन गरेका हुन् । प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरे।
प्रधानमन्त्रीले उद्घाटन गरेसँगै कैलालीको जानकी गाउँपालिका वडा नं ९ कटासेस्थित सिँचाइ नहरमा विद्युत उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएको छ ।
आयोजना आर्थिक वर्ष २०६७/६८ मा सुरु गरिएको थियो । आयोजना सुरु भएको १५ वर्षमा सिँचाइ तयार भएको छ । नहरको पानी प्रयोग गरी ४.७१ मेगावाट क्षमताको विद्युतगृह समेत बनाइएको छ ।
आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्नेछ ।
प्रधानमन्त्री ओलीले नेपालको जलस्रोत तथा ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धि भन्दै यसले नेपालको ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षाको चित्रण गर्ने बताए ।
प्रधानमन्त्री ओलीले १२० वर्षअघिको स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको रानी जमरा कुलरिया प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गर्दै स्थानीय सहभागिता र सरकारको समन्वयबाट आजको सफलताको जग खडा भएको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका सिँचाइ आयोजना—सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन बहुद्देश्यीय आयोजना—यथाशीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिए ।
उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड़का पनि सहभागी थिए । उनले रानी जमरा कुलरिया सिँचाइ प्रणाली नेपालको पश्चिम तराई क्षेत्रको ऐतिहासिक र सामाजिक सम्पदा भएको उल्लेख गरे । मन्त्री खड्काले झण्डै १२० वर्षअघि स्थानीय किसानले बनाएको परम्परागत कुलो प्रणालीको पुनर्निर्माण र आधुनिकीकरण गरी वर्तमान अवस्थामा पुर्याइएको बताए ।
आयोजनाबाट उत्पादन भएको ४.७१ मेगावाट विद्युत् प्रयोगको मोडालिटीबारे मन्त्रालयस्तरमा गृहकार्य भइरहेको जनाउँदै उनले निकट भविष्यमै सरकारले यससम्बन्धी उपयुक्त निर्णय लिने जानकारी दिए । बाँकी रहेको थप २४ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरी समग्रमा ३८ हजार तीन सय हेक्टर जमिनमा सेवा पुर्याउने लक्ष्य रहेको बताए ।उनले रानी जमरा कुलरिया आयोजना समृद्ध नेपाल निर्माणमा एउटा उज्यालो उदाहरणका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij