Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

विद्युत समस्या समाधानको प्रयासका लागि चितवनपछि मधेश पुगे हितेन्द्रदेव शाक्य

विद्युत समस्या समाधानको प्रयासका लागि चितवनपछि मधेश पुगे हितेन्द्रदेव शाक्य

काठमाडाैं: चितवनको चनौली वितरण केन्द्रमा देखिएको समस्या छिटो समाधानको प्रयासका लागि आफैं पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य त्यसपछि मधेश प्रदेश पुगेका छन् ।

पछिल्लो समय चितवन मात्रै नभई मधेश प्रदेशका धेरै भू-भागमा पानी नपर्दा बिजुलीको माग बढेको छ । जसका कारण कतिपय ठाउँमा प्राधिकरणको प्रणालीले माग धान्न नसक्ने अवस्था रहेको प्राधिकरण बताउँछ । यही कुरालाई मध्यनजर गर्दै कार्यकारी निर्देशक शाक्य प्राविधिक टोलीसहित मधेश प्रदेश पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि मात्रै मधेश प्रदेशको निरीक्षण भ्रमण गरी खानेपानी र सिँचाइको संकट झेलिरहेको मधेशमा तत्काल ५ सय डिप बोरिङ जडान गर्ने बताएका थिए । डिप बोरिङ जडानका क्रममा विद्युत आपूर्तिमा के–कस्तो प्राविधिक समस्या देखिन सक्छ भन्नेलगायतका विषयमा पनि अनुगमन गर्ने र बुझ्नका लागि शाक्यसहितको टोली मधेश प्रदेश पुगेको हो ।

प्राधिकरणले पनि लामो खडेरीका कारण सुक्खा संकटकाल घोषणा भएको मधेश प्रदेशमा विद्युत प्रसारण तथा वितरणको अवस्था बुझ्न कार्यकारी निर्देशक शाक्यसहितको टोली मधेश प्रदेश पुगेको जानकारी दिएको छ ।

मधेश प्रदेश पुगेका कार्यकारी निर्देशक शाक्यले मधेश प्रदेश अन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल अन्तरक्रिया गरी सुक्खा खडेरी परि देखिएको संकटमा आम सर्वसाधारणलाई राहत हुने गरी सिँचाइ विद्युतीकरणमा के कसरी कार्य गर्न सकिन्छ भनि सुझाव लिएका छन् ।

उनले मधेश प्रदेशका विभिन्न जिल्लामा पाँच सय डिप ट्युबवेल जडान गर्ने घोषणा गरेको हुँदा उक्त डिप ट्युबवेल सञ्चालनका लागि चाहिने विद्युतीय पूर्वाधारको निर्माण के कसरी गर्न सकिन्छ भनी जानकारी समेत लिएको प्राधिकरणले जानकारी दिएको छ ।

‘सिँचाइ तथा खानेपानीको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण सारथी हुन्छ,’ उनले भने, ‘त्यसका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरिदिनु पर्छ । हाम्रो कारणले यो संकटमा समस्या आउनु हुँदैन भन्ने कुरामा सचेत रहेर नै म आफैं फिल्डमा आएर वास्तविकताको बारेमा जानकारी लिएको हुँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट