Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मधेशमा पूर्वअसईको योजनामा घुमुवा परिचालन, विवादै विवादमा डीआईजी

मधेशमा पूर्वअसईको योजनामा घुमुवा परिचालन, विवादै विवादमा डीआईजी

काठमाडौं  : मधेश प्रदेश प्रहरी कार्यालय मातहतका जिल्लामा तस्करी बढिरहेका समाचार उजागर भइरहेका छन् । भन्सारछलीका सामान भित्र्याउनेसँग प्रहरीले घुस डिल गरेको अडियो नै सार्वजनिक भइरहेका छन् । सर्लाहीको हिरापुर ब्यारेज चौकीका इन्चार्ज सई बैद्यनाथ दासले तस्करीको लाइन दिएर घुस मागेको अडियो बाहिरिएपछि उनलाई निलम्बन नै गर्नुपरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमाप्रसाद चतुर्वेदीले नै सादा पोशाकका प्रहरी मातहतका जिल्ला र चौकीमा खटाउने गरेको आरोप छ । डीआईजी चतुर्वेदीले नेपाल प्रहरीका पूर्वअसई श्यामसुन्दर साहको सल्लाहमा सादा पोशाकमा प्रहरी खटाउने गरेको आरोप छ । पूर्वअसई साहले घुमुवाको सूची बनाउने र डीआईजी चतुर्वेदीले त्यही सूचीअनुसार मधेशका ८ वटै जिल्लामा खटाउने गरेको स्रोत बताउँछ । डीआईजीका विश्वासपात्र पूर्वअसई साहले डीआईजीको आडमा अबैध हुन्डीदेखि ट्रान्सपोर्ट संचालकहरुसँग डिल गर्ने गरेका छन् ।

जागिरका दौरानमा अधिकांश समय मधेश प्रदेश र त्यस अन्तर्गत सर्लाही र रौतहट जिल्लामा घुमुवा बसेका पूर्वअसई साहलाई बसन्तबहादुर कुँवर आईजीपी भएपछि ताप्लेजुङ सरुवा गरेका थिए । ताप्लेजुङ सरुवा भएपछि १ बर्षअघि उनले प्रहरीबाट राजीनामा दिएका थिए । चतुर्वेदी मधेशको डीआईजी भएपछि उनका विश्वासपात्रका रुपमा साहले मधेश प्रदेशका ८ वटै जिल्लामा सादा पोशाकमा खटिने प्रहरीको सूची तयार गर्दै खटाउने गरेका छन् । मधेशका ८ जिल्लामा साहले अबैध हुन्डी कारोबारीदेखि भन्सारछलीका सामान भित्र्याउनेहरुसँग समेत डीआईजीको नाम लिएर लाभ लिने गरेको आरोप छ ।

डीआईजीका विश्वासपात्र पूर्वअसई श्यामसुन्दर साहले पर्साका होटल ब्यवसायी देवप्रकाश चौरसियादेखि नेपाल प्रहरीका पचासौं जनासँग अबैध नेटवर्किङ ब्यापारको नाममा करोडौं रुपैयाँ खाएको आरोप छ । नेपाल प्रहरीका डीआईजी, एआईजीका श्रीमतीहरु रहेको कम्पनी हो भनेर करोडौं पैसा उठाएर पैसा फिर्ता नगरेको देवप्रकाशले बताए । राम्रो फाइदा हुने ब्यापार गर्नुपर्छ, डीआईजी एआईजीका श्रीमती छन् भनेर साढे ७ लाख रुपैयाँ लगेको देवप्रकाशले बताए। उनले भने -‘लामो समयसम्म फिर्ता दिएनन् । ४ बर्ष भइसक्यो, साढे ७ लाख फिर्ता पाउन सकिनँ । पैसा अनलाइनमार्फत् दिएको प्रमाण पनि छ’ । पूर्वअसई साहले नेपाल प्रहरीका राजमंगल सिंहसँग ५०–६० लाख, सुरेश यादवको ३० लाख र निरज सिंहको ५ लाख रुपैयाँ खाइदिएको बताए । सुरेश यादवले त घर बेचेर दिएको रकम साहले खाइदिएको देवप्रकाशले बताए ।

देवप्रकाश भन्छन्–‘राजमंगलसहितका ५० औं प्रहरीसँग साहले करोडौं ठगी गरेको छ, त्यही रकमले क्रेटा गाडी चढेर हिंड्ने गरेको छ । बीरगंजको १४ वडामा राधेमाईमा करोडौंको घर बनाएको छ । हामीजस्तालाई ठगेको रकमले काठमाडौंमा समेत घर बनाएको छ रे भन्ने सुनिंदैछ । सबै पीडितहरु उजुरी दिन जाँदैछौं ।’ अबैध नेटवर्किङको नाममा थुप्रै प्रहरीलाई ठगी गरेकोबारेमा पूर्वअसई श्यामसुन्दर साहको प्रतिक्रिया यस्तो छ–‘सबै गलत कुरा हुन् । नेटवर्किङ ब्यापारको नाममा धेरै प्रहरीसँग ३ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म लिएको र फिर्ता नगरेकोबारेमा उनले भने– ‘त्यस्तो गरेको छैन, गलत हो ।’

धिरजप्रताप सिंह मधेश प्रदेशको डीआईजी हुँदा र आईजीपी भएपछि पनि पूर्वअसई साह र बारा–पर्सामा जरा गाडेर बसेका बरिष्ठ सई सागर राणाको जोडीले नाकाबाट भन्सारछलीका सामान भित्र्याउने ब्यापारी र अपराधिक समूहलाई संरक्षण गरी अथाह लाभ लिने गरेको आरोप लागेको थियो । राणाले प्रहरीको कर्तब्य नै बिर्सेर एक भोजमा सहभागी बीरगंज महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई सांघातिक आक्रमण गरेको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो । तिनै वडाध्यक्ष चतुर्वेदीमाथि कुर्सीले प्रहार गर्ने राणालाई जिल्ला प्रहरी कार्यालय धनुषाले असार महिनाको उत्कृष्ट प्रहरीका रुपमा सम्मान गरेको छ । गएको होलीको दिनमा वीरगञ्जको पानीट्यांकीस्थित डाइमन प्यालेसमा सई सागर राणासहितको ७ जनाको समूहले आफूमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

उक्त जाहेरी अनुसार आक्रमणकारीलाई पक्राउ नगरी उल्टै उच्च सरकारी वकिल कार्यालय बीरगंजमार्फत् महान्यायाधीवक्ता कार्यालयमा फौजदारी मुद्दा देवानीमा परिणत गर्न सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij