काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले डोल्पामा निर्माण हुन लागेको विवादित १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया कानुन अनुसार अघि बढाउन निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले आयोजना निर्माणसम्बन्धी उजुरीका विषयमा छलफल गर्दै प्रचलित कानुनको उल्लंघन नहुने गरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार कानुनी प्रक्रिया पालना हुने गरी सम्बन्धित निकायले नै जिम्मेवारी लिने गरी अगाडि बढ्नुपर्ने स्पष्ट गरिएको छ ।
सभापति पोखरेलले जगदुल्ला जलविद्युत् आयोजना सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले संसदीय समितिको विस्तृत छलफल आवश्यक नरहेको तर्क गरे । उनले समितिले विषयमा स्पष्ट निर्देशन दिइसकेकाले अब कार्यान्वयनको चरणमा जानुपर्ने धारणा राखे ।
आयोजना सञ्चालनको जिम्मेवारी लिएको जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार विभिन्न विवाद र उजुरीका कारण ठेक्का प्रक्रिया दुई महिनादेखि रोकिएको छ।विशेष गरी चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का प्रक्रिया विरुद्ध उजुरी दिएपछि विभिन्न सरकारी निकायहरूले पनि अनुसन्धान अघि बढाएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij