देश अहिले एक प्रकारले तनावमा छ, छटपटीमा छ, उकुसमुकुसमा छ । मान्छेले विभिन्न ढङ्गले सोचिराखेका छन् । सोचाइका फरक फरक कोणहरू हुन सक्छन् । तर, नेपाली जनताको अपेक्षा र आशा के हो ? हामीले सोचेको के हो ? हामी के गर्न चाहन्छौँ ? कस्तो नेपाल बनाउन चाहन्छौँ ? हामीले भन्नैपर्छ, केही गर्नैपर्छ । अन्यथा, हामीले हेर्दा हेर्दै नेपाल नेपालीको हातबाट गुम्ने र नेपाली राजनीतिको मैदान अर्कोतिर मोडिने खतराहरू छन् ।
कम्युनिस्ट आन्दोलनमा पुष्पलालको हामी सबैले सम्मान गर्यौँ । उहाँको योगदानको बारेमा धेरै ठुला–ठुला किताबहरू लेखिसकिएका छन् । यहाँहरू सबैले पढिसक्नुभएकै छ । नयाँ पुस्तालाई पनि म पढ्न आग्रह गर्छु ।
आज बिहान मात्रै पनि मैले पुष्पलालले लेख्नुभएको एउटा लेख पढेँ । उहाँले त्यहाँ लेख्नुभएको थियो, म किन राजनीतिमा होमिएँ ? कांग्रेस छोडेर कम्युनिस्टमा किन लागेँ ? त्यहाँ उहाँले आफ्नो दाइलाई स्मरण गर्नुभएको रहेछ । गंगालाल फाँसीमा जानुभन्दा पहिला उहाँले भेट्नुभएको थियो । विभिन्न छलफल चलेको बेलामा पनि गंगालालले झुक्ने कुरा गर्नुभएन । उहाँलाई मारिँदैछु भन्ने पनि थाहा थियो । उहाँले पुष्पलाललाई भनेर जानुभयो– केही भयो भने तिमी है !
पुष्पलालले जे कुरा त्यहाँ लेख्नुभयो, त्यो कुरा नेपाली कांग्रेसमा लागेर पूरा हुन्छ कि भनेर केही प्रयत्न गर्नुभयो । तर उहाँले सबैतिरबाट नापेपछि ‘कांग्रेसले त्यो विचार र त्यो आदर्श मान्यताहरू कायम राख्न सक्दैन भनेर म कम्युनिस्ट आन्दोलनमा लागेँ’ भनेर संस्मरण लेख्नुभएको रहेछ ।
पुष्पलाललाई दुई–तीन वर्ष पनि काम गर्न दिइएन । बहुमतको नाममा उहाँलाई अपमानित ढङ्गले महासचिवबाट हटाइयो । यो घटना एक प्रकारले लेनिनसँग मिल्दोजुल्दो थियो । लेनिनको पनि दाइलाई जारहरूले फाँसी दिएका थिए । त्यो बलिदानले एउटा कम्युनिस्ट आन्दोलन, एउटा भौतिकवादी चेतना, विज्ञानमा विश्वास राख्ने चेतना, राजनीतिलाई धर्मगुरुहरूको हातबाट थुतेर, सामन्त र सम्राट्हरूको हातबाट थुतेर, अहङ्कारी लुटेराहरूको हातबाट थुतेर श्रमिक, मजदुरको हातमा कसरी ल्याउने भन्ने चेत लेनिनलाई दिएको हो । त्यही कुरा पुष्पलाललाई गंगालालको बलिदानले दियो ।
पुष्पलालले कम्युनिस्ट आन्दोलनलाई अन्तिमसम्म इमानदारीपूर्वक अगाडि बढाउने प्रयत्न गर्नुभयो, त्यो नै उहाँको सबभन्दा ठुलो योगदान हो । उहाँले कम्युनिस्ट पार्टी निर्माण गर्दै र कम्युनिस्ट पार्टीबाट एउटा विचारको निर्माण गर्दै जनतालाई जागरूक बनाउँदै अगाडि लाग्नुभयो । यस सन्दर्भमा हामीले पुष्पलाललाई सम्झिनैपर्छ ।
तर, पुष्पलाललाई दुई–तीन वर्ष पनि काम गर्न दिइएन । बहुमतको नाममा उहाँलाई अपमानित ढङ्गले महासचिवबाट हटाइयो । संशोधनवादीहरू र पार्टीभित्र विभिन्न ढङ्गले विचलित भएका तत्त्वहरूले कार्यकर्ता र नेतालाई भ्रममा पारेर पुष्पलाललाई अपमानित गरियो । तैपनि उहाँले सहेर बस्नुभयो ।
पुष्पलालकै ठाउँबाट उभिएर नेपालका सबै अन्तर्विरोधहरू तथा राजनीतिक लडाइँहरूलाई तपाईंले केन्द्रित गरेर हेर्नुभयो भने हामी देख्छौँ कि एउटा अन्तर्विरोध अझैसम्म हल भएको छैन – दलाल पुँजीवाद र नेपाली जनताको बिचको अन्तर्विरोध । जतिबेला कम्युनिस्ट आन्दोलनलाई अप्ठ्यारो पर्यो, पुष्पलालले निकास दिने प्रयत्न पनि गर्नुभयो । र, उहाँले निष्कर्ष निकाल्नुभयो, नेपालका दुस्मन भनेका अर्धसामन्ती, अर्धसाम्यवाद र अर्धउपनिवेशवाद हो । ती दुस्मनविरुद्ध लड्नुपर्छ भनेर पुष्पलालले निष्कर्ष निकाल्नुभयो र सँगसँगै कांग्रेससँग मिलेर गणतन्त्रसम्म पुग्ने एउटा सुधारात्मक तथा वार्तात्मक परिवर्तनको कार्यनीति र गणतन्त्र हुँदै समाजवाद, साम्यवादतिर जाने रणनीतिक कार्यक्रम अगाडि सार्नुभयो । नेपाललाई आज पुष्पलालको कोणबाट हेर्नुभयो भने अर्धसामन्तवादलाई परास्त गर्न एक हदसम्म सफल भएका छौँ र हामी गणतन्त्रसम्म आइपुगेका छौँ ।
तर अर्धउपनिवेश या नवउपनिवेशको आजको सन्दर्भमा हेर्दा हाम्रो देश साम्राज्यवादीहरूको खेल मैदान बनिरहेको स्थिति छ । त्यो हिसाबले दलाल पुँजीवादको हातमा सत्ता गएको छ र साम्राज्यवादीहरूले नवउपनिवेश नेपाललाई एउटा थलो बनाइरहेका छन् । त्यो लडाइँ जारी छ ।
पुष्पलालकै ठाउँबाट उभिएर नेपालका सबै अन्तर्विरोधहरू तथा राजनीतिक लडाइँहरूलाई तपाईंले केन्द्रित गरेर हेर्नुभयो भने हामी देख्छौँ कि एउटा अन्तर्विरोध अझैसम्म हल भएको छैन – दलाल पुँजीवाद र नेपाली जनताको बिचको अन्तर्विरोध । राज्य एक प्रकारले अस्थिरतामा हुनुको कारण पनि त्यही हो ।
समानताको नाममा समृद्धिलाई या पुँजीवादी आधुनिकीकरणलाई विरोध गर्छन् भन्दै उनीहरू कम्युनिस्टहरूको सङ्घर्षबाट प्राप्त कुरालाई पनि स्वीकार गर्न तयार छैनन् । सामन्तवादलाई अन्त्य गरेर दलाल पुँजीवादतिर गएको कुरालाई पनि कयौँ पश्चगामीहरू, बुर्जुवाहरू र पुँजीवादीहरूलाई स्वीकार्य छैन । स्वीकार्य छैन । सामन्तवादको अन्त्य, त्यसमा कम्युनिस्ट पार्टीले निभाएका भूमिकाहरू, कम्युनिस्ट पार्टीले खेलेका नेतृत्वदायी भूमिकाहरूलाई स्वीकार गर्ने आँट पनि अहिले पुँजीवादीहरूसँग छैन । बरु, कम्युनिस्टहरूको हातबाट कसरी देशलाई खोस्ने र पूर्ण रूपले पुँजीवादी या दलाल पुँजीवादीहरूको खेल मैदान नेपाललाई कसरी बनाउने तथा दलाल पुँजीवादीहरूको सत्ता कसरी सुदृढ गर्ने भन्ने उनीहरूलाई चिन्ता छ ।
कयौँ बहसहरू हामीले अहिले टेलिभिजनमा सुनिरहेका छौँ । उनीहरूको दाबी के छ भने नेपाल किन बिग्रेको हो ? भन्दा बढी कम्युनिस्ट भएर बिग्रेको हो भन्ने छ । नेपालमा वामपन्थीहरू बढी भएको कारणले नेपाल बिग्रेको हो । कम्युनिस्ट स्कुलिङ जनतामा बढी पुगेको हुनाले नेपाल बिग्रेको हो । अस्थिरताको कारण पनि त्यही हो, गरिबीको कारण पनि त्यही हो ।
कम्युनिस्टहरूले गरिबी मात्रै बाँड्छन् । समानताको नाममा समृद्धिलाई या पुँजीवादी आधुनिकीकरणलाई विरोध गर्छन् भन्दै उनीहरू कम्युनिस्टहरूको सङ्घर्षबाट प्राप्त कुरालाई पनि स्वीकार गर्न तयार छैनन् । बरु, त्यसलाई जसरी हुन्छ समाप्त पार्ने एउटा खेल आज चलिरहेको छ ।
त्यस हिसाबले हेर्दा पनि पुष्पलालको विचारको महत्त्व आज पनि छ । यद्यपि, पुष्पलालले ६ सालमा संश्लेषण गरेको राजनीतिक परिस्थिति आज छैन । वर्गहरूको सम्बन्ध पनि त्यो रूपमा छैन, आर्थिक सम्बन्ध पनि त्यो रूपमा छैन । तर एउटा अन्तर्विरोध चाहिँ आज छ । पुष्पलालले भनेकै कुरा अलिकति विस्तार भएर दलाल पुँजीवादी सत्ता नेपालमा कायम छ । त्यो दलाल पुँजीवादी सत्ता जनतामा पुगेको अलिकति अधिकार पनि मान्न तयार छैन । बरु, त्यसलाई पूरै खोस्न अझै विभिन्न षड्यन्त्रहरू गर्दैछ । त्यो षड्यन्त्र अन्तर्गत नै नेपालको कम्युनिस्ट आन्दोलन पनि परेको छ । आजको यथार्थ यही हो ।
नेपालको राजनीतिमा एउटा विकृति आएको छ – सत्तामा जानेहरूले भ्रष्टाचार गर्ने, बाहिर बस्नेहरूले चन्दा उठाउने र जनतालाई सताउने । आजको विषय छ, ‘नेपालको राजनीति र कम्युनिस्ट आन्दोलन’ । यसबारे एकदमै ठुलो बहस छ । नेपालको राजनीति पनि सुस्पष्ट एउटा दिशातिर बढिरहेको छैन । कम्युनिस्ट आन्दोलन पनि एउटा स्पष्ट लक्ष्य र गन्तव्यतिर केन्द्रीकृत भएर बढ्न सकिरहेको छैन ।
यसमा हामीले सोच्नै पर्नेछ । तर, हामीले सोच्ने नयाँ भनेको के हो ? हामीले आजको दिनमा सोच्नुपर्ने भनेको नेपालका अन्तर्विरोधहरू के–के हुन् ? अर्थराजनीतिक सम्बन्ध के हो ? सांस्कृतिक सम्बन्धहरू के हो ? अन्तर्राष्ट्रिय सम्बन्धहरू के हुन् ? यहाँको राज्यसत्ता र जनताको अन्तर्विरोध के हो ? यसबारे पनि स्पष्ट हुन जरुरी हुन्छ । यी सबै हेर्दा हामीले मार्क्सवादमा नयाँ तरिकाले सोच्नुपर्ने बेला भएको छ ।
दुईवटा स्कुलबाट नेपालको कम्युनिस्ट आन्दोलन भएका छन् । एउटा चुनावबाट चुनाव हुँदै, चुनावबाट मात्रै परिवर्तनको आशा राख्ने र प्रयत्न गर्ने । अर्को,सशस्त्र विद्रोह र सङ्घर्षको बाटोबाट परिवर्तनको लागि प्रयत्न गर्ने । अलिअलि मध्यमार्गी धारा पनि छ – अलमल–अलमल गर्ने खालको । तर आजको विश्व परिस्थितिले के भन्छ ? यो एउटा निश्चित बहसको कुरा हो ।
आज नेपालमा कम्युनिस्ट पार्टीहरू तथा नेताहरू कहाँ गएर अलमलिएका छन् भने उनीहरू व्याख्या मार्क्सवादको गर्ने तर प्रयोग पुँजीवाद गर्ने । नेपालको राजनीतिमा एउटा विकृति आएको छ – सत्तामा जानेहरूले भ्रष्टाचार गर्ने, बाहिर बस्नेहरूले चन्दा उठाउने र जनतालाई सताउने । कुनै न कुनै ढङ्गले भ्रष्टीकरण नै छ । सङ्घर्ष गर्ने, मिहिनेत गर्ने, जनतालाई जागरूक बनाउने, आशावादी गर्ने, रूपान्तरण गर्ने कतै पनि देखिँदैन । यसो भनेर के नयाँ पुस्ता गलत हो ? होइन । हाम्रो विश्लेषणमा हिजोकै तरिकाले मात्रै मार्क्सवादको अध्ययन गराएर सम्भव छैन । हिजोकै तरिकाले मात्रै बुझेर सम्भव छैन । जे सुकै भन्नुस्, सकारात्मक वा नकारात्मक, पुरानो पुस्ताले कम्युनिस्ट आन्दोलनलाई ६५ प्रतिशतसम्म, ७० प्रतिशतसम्म पुर्यायो । त्यसमा हाम्रो पनि योगदान रह्यो, राम्रो पनि भयो ।
तर विचारधारात्मक काल, सैद्धान्तिक काल, प्रचारात्मक काल र संगठन निर्माणको काल जति लोकप्रिय रह्यो, सरकारमा पुगेपछि, सत्ताको नजिक पुगेपछि आर्थिक कार्य गर्ने काल, सत्ता सञ्चालनको काल या सरकार सञ्चालनको काल, जनसम्बन्ध निर्माण गर्ने काल, आर्थिक क्रियाकलाप सञ्चालन गर्ने काल चाहिँ हाम्रो लागि पीडादायी भयो । त्यो एक प्रकारले असफल भयो ।
आज नेपालमा कम्युनिस्ट पार्टीहरू तथा नेताहरू कहाँ गएर अलमलिएका छन् भने उनीहरू व्याख्या मार्क्सवादको गर्ने तर प्रयोग पुँजीवाद गर्ने । यस्तो विरोधाभास आजको कम्युनिस्ट आन्दोलनमा छ । कार्यकर्तालाई शिक्षा चाहिँ सर्वहाराकरणको र एउटा अग्रदस्ताको दिने तर नेतृत्वपंक्ति या नेताहरू भने पुँजीपतिमा बदलिने वा अभिजात वर्गमा फेरिने । उनीहरूले पार्टीमा अनुमोदन नगरेर, पार्टीमा छलफलै नगरेर पुँजीवादी जीवन पद्धति अँगाल्ने गर्छन् तर उनीहरू कुरा भने सर्वहारा सिद्धान्तको, कम्युनिस्ट सिद्धान्तको गर्छन् । आजको राजनीति र आजको नेपालको कम्युनिस्ट आन्दोलनको एउटा ठुलो समस्या हो । यसको समाधान हामीले खोज्नैपर्छ ।
नेपालको राजनीति अस्थिर हुनु र भ्रष्टीकरण हुनुमा कम्युनिस्टहरूको दोष छ, त्यसमा माओवादीको सबैभन्दा ठुलो दोष छ । कमरेड प्रचण्डसँग छलफलमा मैले भनेको थिएँ, आजको राजनीति यति भ्रष्ट हुनु, लथालिङ्ग हुनु, जनतालाई, क्रान्तिकारीहरूलाई, बलिदान गर्ने नेता र कार्यकर्तालाई अपमानित हुने ठाउँमा पुर्याउनुमा सबभन्दा ठुलो त्रुटि माओवादीहरूको हो । त्यस कारण तपाईंले अरूलाई दोष दिएर उम्किने ठाउँ छैन । आफ्नो वर्गलाई छोडेर, आफ्ना विचारहरूलाई, मान्यताहरूलाई, आदर्शहरूलाई त्यागेर, अरूलाई मात्र दोष दिएर हामी उम्किन पाउँछौँ ?
(नेपाली कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले गरेको सम्बोधनको सम्पादित अंश)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij