Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली : अध्यक्ष प्रचण्ड

भ्रष्टाचारको मुहान नै वर्तमान निर्वाचन प्रणाली : अध्यक्ष प्रचण्ड

काठमाडौँ : नेपाल मतदाता अधिकार मञ्चले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझावसहित ध्यानाकर्षण पत्र बुझाएको छ। प्रतिनिधिमण्डलले पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा पुगेर अध्यक्ष प्रचण्डलाई भेट गरी उक्त सुझावपत्र हस्तान्तरण गरेको हो।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणाली र संविधान संशोधनबारे माओवादी केन्द्रको स्पष्ट धारणा रहेको उल्लेख गरे । उनले निर्वाचन प्रणालीमा आवश्यक परिवर्तनका लागि माओवादी केन्द्रले निरन्तर आवाज उठाउँदै आएको जानकारी दिए ।

उनले खर्चिलो निर्वाचन प्रणाली र सांसद भएपछि मात्रै मन्त्री वा प्रधानमन्त्री बन्नुपर्ने व्यवस्थाका कारण भ्रष्टाचार बढेको उल्लेख गरे । ‘मुहानबाट धमिलो पानी आइराखेको छ, तर हामीले धाराबाट सफा पानी खोज्न मिल्दैन,’ उनले भने, ‘प्रत्यक्ष कार्यकारी रहने गरी निर्वाचन प्रणाली आवश्यक छ।’ जनसङ्ख्याका आधारमा पूर्ण समावेशी र समानुपातिक प्रतिनिधित्व हुनुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिए ।

अध्यक्ष प्रचण्डले मतदाता अधिकार मञ्चले उठाएका मुद्दाहरू सकारात्मक रहेको उल्लेख गर्दै, यस्ता मागहरू केवल सुझाव पत्रमार्फत नेताहरूलाई बुझाएर मात्र पूरा नहुने बताउनुभयो। परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उनले भने, ‘परिवर्तनको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेन्डा सफल हुनेछन्।’

उनले थप भने, ‘मतदाता अधिकार मञ्चको यो पहल सकारात्मक छ। यस्ता माग र सुझावहरू नेताहरूलाई बुझाएर मात्र परिवर्तन सम्भव हुँदैन। जनताका माग र मुद्दा स्थापित गर्न आवश्यक परे हामी सडक सङ्घर्षमा जान पनि तयार छौँ। तपाईंहरू पनि त्यसको लागि तयारी अवस्थामा रहनुहोला।त्यसको तयारी गर्नुहोला ।’

मतदाता अधिकार मञ्चले निर्वाचन प्रणालीमा सुधार, प्रतिनिधित्वको समावेशीकरण र मतदाताको अधिकार सुनिश्चित गर्ने सम्बन्धमा विभिन्न मागहरू अध्यक्ष प्रचण्डसमक्ष पेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट