Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

मेडिकल काउन्सिलको लेटरप्याड दुरुपयोग गरी डाक्टरी लाइसेन्स परीक्षा पास

मेडिकल काउन्सिलको लेटरप्याड दुरुपयोग गरी डाक्टरी लाइसेन्स परीक्षा पास

काठमाडौं : सरकारी लेटरप्याडमै डाक्टरी लाइसेन्स परीक्षा उत्तीर्ण भएको जानकारी पाए पनि चिकित्सक दर्ता नम्बर नपाउँदा पेसागत यात्रा अन्योलमा परेको भन्दै एक विद्यार्थीले गुनासो गरेका छन् ।

डाली युनिभर्सिटी चीनबाट एमबीबीएस उत्तीर्ण गरेका सीडी भुसालले दर्ता नम्बर नपाएको भन्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसाललाई निवेदन दिएका छन् ।

सीडी भुसाल पुतलीसडकमा रहेको स्पिड इन्टरनेसनलमार्फत चीनको डाली युनिभर्सिटीबाट एमबीबीएस गरेर आएका थिए । १४ पटकसम्म फेल भएपछि स्पिड इन्टरनेसनलका पदाधिकारी मिलन ज्ञवालीकै संयोजनमा पुनः फाराम भरेर पुनर्योगको परीक्षा दिँदा २८ कात्तिक २०८१ को नतिजामा उत्तीर्ण भएको भुसालको दाबी छ ।

तर, भुसालले जब काउन्सिलको वेबसाइटमा रिजल्ट हेरे, उनी अझै पनि अनुत्तीर्ण नै देखिएका थिए । त्यसपछि पुनः रजिस्टार डा. सतीशकुमार देवलाई भेट्न जाँदा भेट हुन नसकेको र त्यसपछि आफू अलमलमा परेको विवरण निवेदनमा उल्लेख गरिएको छ ।

‘स्पिड इन्टरनेसनलका पदाधिकारी मिलन ज्ञवालीले पुनर्योग गर्न सुझाव दिनुभयो र उहाँले नै पुनर्योग फाराम भर्ने जिम्मा लिनुभयो । २८ कात्तिकमा पुनर्योगको रिजल्टमा उत्तीर्ण भएको समेत पत्र समेत दिनुभयो,’ निवेदनमा भनिएको छ, ‘यो पत्र कहाँबाट प्राप्त भयो भन्दा रजिष्ट्रार डा. सतीश देवले दिनुभएको भन्नुभयो, साथै सिस्टममा रिजल्ट उहाँले राखिदिनुहुन्छ भन्नुभएको थियो ।’

उत्तीर्णको प्रमाणस्वरूप काउन्सिलकै आधिकारिक लेटरप्याडमा रजिस्ट्रारको हस्ताक्षर र छापसहितको पास भएको पत्र समेत प्राप्त भएको उनले बताए ।

सीडी भुसालले नेपाल मेडिकल काउन्सिलमा दिएको निवेदन। उक्त सुचनामा काउन्सिलको पुनर्योगको नतिजामा ८ जना विद्यार्थी पास भएको जानकारी समेत गराइएको छ ।

‘१३ देखि १५ असोजसम्म भएको ७०औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा संलग्न भई प्रकाशित परीक्षाफलमा अनुत्तीर्ण भएका परीक्षार्थीहरूले पुनर्योगका लागि निवेदन दिएकोमा यस काउन्सिलको सम्बन्धित विभागले पुनर्योग गर्दा निम्न परीक्षार्थीहरु उत्तीर्ण भएको जानकारी गराइन्छ,’ उक्त सूचनामा भनिएको छ ।

भुसालका अनुसार त्यसपछि बाँसबारीस्थित काउन्सिल कार्यालयबाट बारम्बार बोलाइए पनि दर्ता प्रक्रिया अगाडि बढाइएन । ‘रजिष्ट्रार डा. सतीश देवले ‘सिस्टममा राखिदिन्छु’ भने पनि त्यसपछिका दिनमा फोन उठेन, भेट सम्भव भएन,’ भुसालले पत्रमार्फत गुनासो गरेका छन् ।

उनले आरोप लगाउँदै भनेका छन्, ‘काउन्सिलका कर्मचारीले दिनभर कुराएर राख्ने काम मात्र गरे, तर औपचारिक प्रक्रिया पूरा गर्ने प्रयास गरेनन् ।’ यस्तो अवस्थाले आफू मानसिक रूपमा विचलित भएको पनि उनले उल्लेख गरेका छन् ।

भुसालले यदि उक्त पत्र आधिकारिक हो भने तत्काल आफूलाई चिकित्सकको रूपमा दर्ता गर्न माग गरेका छन् । यदि उक्त प्रमाणपत्र अमान्य हो भने आफूलाई झुटा कागजात दिई ठग्नेसम्मको काम गरेको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । यस विषयमा अनलाइनखबरले थप बुझ्न खोज्दा सीडी भुषालकी आमा देवकला भण्डारी सम्पर्कमा आइन् ।

यस विषयमा अनलाइनखबरले मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालसँग जिज्ञासा राख्दा उनले काउन्सिलमा उजुरी आएको पुष्टि गरे । उनका अनुसार छोरा सीडीले चिकित्सक दर्ता प्रमाणपत्रको लागि १४ पटकसम्म परीक्षा दिएका थिए । तर फेल भए । त्यसपछि स्पिड इन्टरनेसनलका पदाधिकारी मिलन ज्ञवाली पुनर्योगको सुझाव दिएका थिए ।

‘ज्ञवालीले पैसा हालेर पुनर्योगको फारम भरिदिनुभएको थियो,’ भण्डारीले अनलाइनखबरसँग भनिन्, ‘पछि पास भएको जानकारी दिनुभएको थियो । तर लाइसेन्सका लागि दर्ता भएन ।’

भण्डारीका अनुसार छोरा चीनमा एमबीबीएस अध्ययन गर्दा ज्ञवालीसँग पैसाको लेनदेन भइरहन्थ्यो । ‘छोरालाई पैसा पठाइदिन सहज हुने भएकाले हामीले ज्ञवालीलाई पैसा दिन्थ्यौं । उहाँको सहजीकरणमा पुनर्योग गरिएको थियो,’ उनले भनिन् ।

लाइसेन्स परीक्षा पास गराउनका लागि लेनदेन भएको आंशका छ ? भन्ने प्रश्नमा भण्डारीले ठोस जवाफ दिन सकिनन् । उनले भनिन्, ‘पैसाको विषयमा मलाई यस्तो थाहा छैन । ज्ञवाली सरले पुनर्योगका लागि मिलाउनुभएको थियो ।’

यस विषयमा अनलाइनखबरले मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालसँग जिज्ञासा राख्दा उनले काउन्सिलमा उजुरी आएको पुष्टि गरे ।

यस विषयमा धेरै कुरा नगर्ने बताउँदै काउन्सिलका पदाधिकारी जोडिएकाले उजुरी उपर छानबिन गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पत्र पठाएको जानकारी समेत दिए । ‘उहाँहरूले काम गरिराख्नुभएको होला । थप कुरा उतै बुझ्नुहोस्,’ डा. भुषालले अनलाइनखबरसँग भने ।

नेपाल मेडिकल काउन्सिलको लेटरप्याड दुरूपयोग गर्दै लाइसेन्स परीक्षा पास गरेको सूचना। काउन्सिलको उच्च स्रोतका अनुसार यो विषय गुपचुपमै सीआईबीलाई छानबिनका लागि पठाइएको थियो । ‘यो विषयमा बोर्डका पदाधिकारीसँग कुनै छलफल नै भएको थिएन ।

सीआईबीलाई छानबिनका लागि पत्र पठाएको भन्ने कुरा केही समयपछि अनौपचारिक रूपमा सुन्नमा आएको छ,’ काउन्सिल स्रोतले अनलाइनखबरसँग भन्यो ।

स्पिड इन्टरनेसनलका पदाधिकारी मिलन ज्ञवालीसँग भने सम्पर्क हुन सकेन । त्यसपछि हामीले काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवसँग सम्पर्क गर्‍यौं ।

डा. सतीशले आफ्नो नाम जोडेर काउन्सिलमा उजुरी आएको बताए । तपाईंको हस्ताक्षर र काउन्सिलको लेटरप्याड लाइसेन्स परीक्षाको पास भएको जानकारी गराइएको छ नि भन्ने प्रश्नमा उनले त्यो कागज नक्कली भएको दाबी गरे ।

‘उक्त पत्रमा लेखिएको नाम र रोल नम्बर कुनै पनि मिल्दैन,’ डा. देवले भने, ‘यस्तो कागज काउन्सिलको रजिष्ट्रारले दिने कुरा नै हुँदैन ।’

यो विषयलाई सीआईबीले अध्ययन गरिरहेकाले समाचार प्रकाशन गर्न नहुने डा. देवको तर्क छ । ‘यो विषयमा न्युजमा जानुपर्छ जस्तो लाग्दैन । ती मानिस पास त भएका छैनन् नि ।,’ डा. देवले जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट