Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

भाषण होइन, परिणाम देखिने गरी काम गराैँ : ऊर्जा मन्त्री

भाषण होइन, परिणाम देखिने गरी काम गराैँ : ऊर्जा मन्त्री

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले भाषण गरेर भन्दा पनि जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने समय आएको बताएका छन् । बिहीबार विद्युत विकास विभागको ३२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले सरकारमा बस्ने मन्त्री र नेताहरूले भाषण मात्रै धेरै गरेको बताए ।

उनले भने,‘ अब साँचिकै काम गर्ने समय हो । यदि नीति र नियमले काम रोकिएको छ भने त्यसमा सुधार गरेर अघि बढ्नुपर्छ । ऊर्जा अब केवल उज्यालो दिने माध्यम होइन, यो मुलुकको समृद्धिसँग गाँसिएको विषय हो ।’ मन्त्री खड्काले देशभरको हरेक चुल्होमा विद्युत् पुगोस् भन्ने सरकारको लक्ष्य रहेको बताउँदै,‘ऊर्जाको आवश्यकता रोकिने विषय होइन, ढिला नगरौँ, आवश्यक निर्णयहरू तत्काल लिई तीव्र गतिमा अघि बढौँ’ ।

मन्त्री खड्काले वर्तमान सरकारको प्राथमिकता देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने रहेको उल्लेख गरे ।उनले भने,‘ हामीसँग जे छ, त्यसको सदुपयोग गर्न सक्ने हो भने, ऊर्जा नै व्यापार र समृद्धिको मूल स्रोत बन्न सक्छ।’

ऊर्जा मन्त्री खड्काले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति–नियमको पुनरावलोकन गर्ने स्पष्ट सङ्केत दिए । यो वर्ष ४३२ मेगावाट जलविद्युत् तथा ३५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरेर योगदान दिने निजी तथा सरकारी पक्षप्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री खड्काले बताए । उनले भने,‘ मुलुकको समृद्धि सरकार वा मन्त्री मात्रको दायित्व होइन, यो साझा प्रयास हो। त्यसैले सबै तह र तप्काले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट