Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

प्रचण्डले महरासँग सहयोग मागे

प्रचण्डले महरासँग सहयोग मागे

काठमाडौँ : नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको अन्तर्विरोध र अन्य पार्टीसँग एकताका लागि समायोजनको भूमिका खेलिदिन उपाध्यक्ष कृष्णबहादुर महरासँग आग्रह गरेका छन् । बुधबार दिउँसो आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले एकताका लागि समायोजन भूमिका खेली दिन आग्रह गरेका हुन् ।

स्रोतले दिएको अनुसार प्रचण्ड र महराबिच स्थायी समिति बैठकको तयारी, पार्टीभित्र बढ्दै गएको अन्तर्विरोध, विप्लव नेतृत्वको नेकपा लगायत वामपन्थी शक्तिसँग एकताको विषयमा करिब एक घण्टा छलफल भएको थियो ।

‘प्रचण्ड र महरा कमरेडबिच एक घण्टा जति भेट भएको हो । नितान्त आन्तरिक विषयमा छलफल भएको थियो । पार्टीभित्र देखिएको अन्तर्विरोध हल गर्नका लागि जनार्दन शर्मा, वर्षमान पुन, नन्दबहादुर पुन ‘पासाङ’, विप्लव लगायतसँग छलफल गर्नुका साथै एकताका लागि संयोजनकारी भूमिका खेलिदिन अध्यक्षले आग्रह गर्नुभएको थियो’, स्रोतले भन्यो ।

पार्टीभित्र पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच अन्तर्विरोध देखिएको छ । त्यस्तै, विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया समेत अगाडि बढेको छैन ।

प्रचण्डका निकै विश्वास पात्र मानिने महरा पुस २३ मा सम्पन्न केन्द्रीय समिति बैठक अघिसम्म एकता समायोजन समितिका संयोजक थिए । अहिले एकता समायोजन समितिका संयोजक प्रचण्ड आफै छन् ।

पार्टी निर्माण, विधि, पद्धतिको विषयमा गत वर्ष साउनमा बसेको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले १४ बुँदे प्रस्ताव पेस गरेका थिए । यसपछि पार्टीमा आन्तरिक सङ्घर्ष तीव्र बनेको थियो ।

प्रचण्डले साउन १६ गते स्थायी समिति बैठक बोलाएका छन् । बैठकअघि नै आन्तरिक विवाद हल गर्न प्रचण्डले महरालाई अगाडि सारेका छन् । प्रचण्डसँगको भेटबारे महराले केही बताएका छैनन् । उनले यसलाई सामान्य छलफल मात्र भनेका छन् ।

‘आन्तरिक विषयमा छलफल भएको हो । त्यस्तो केही होइन । म अहिले वार्ता टोलीको संयोजक पनि छैन । अध्यक्ष प्रचण्ड आफै हुनुहुन्छ,’ रातोपाटीसँग उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट