काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल ईभीको युगमा प्रवेश गरिसकेको बताएका छन् ।महानगर यातायात प्रालिको विद्युतीय बस सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उनले दिगो, सुरक्षित, वातावरणमैत्री यातायातको सुरुवात गरिसकेकाले अब यसलाई कसैले रोक्न नसक्ने बताए ।यातायात पूर्वाधारको क्षेत्रमा नेपाल पछि नै रहे पनि केही वर्षको दौरानमा धेरै प्रगति भइरहेको उनको भनाई छ ।
उनले भने–‘पूर्वदेखि पश्चिम समेट्ने राजमार्ग बनिरहेका छन् । उत्तर दक्षिणका करिडोर रहर लाग्दो तवरले बनिरहेका छन् । यी करिडोरलाई हामीले त्रिदेशीय कनेक्टीभिटीका रुपमा विकास गर्दछौं ।’
उनले मुलुकलाई संघीय संरचनामा लगेपछि कतिपय द्विविधा देखिएको बताए । दाहालका अनुसार संघले गर्ने काम प्रदेशले र प्रदेशले गर्ने काम कतिपय स्थानीय तहले गरिरहेका छन् । यसमा संघले समन्वय गरेर दुविधा हटाउन खोजिरहेको मन्त्री दाहालले जानकारी दिए ।
दाहालले ड्राइभिङ लाइसेन्सको समस्या हल भएको दाबी गरे । उनले आफू मन्त्री भएर आएपछि अनवरत प्रयत्न गरेर समस्या हल गरेको दावी गरे ।अब लाइसेन्स दिने काम प्रदेशको भएकाले १ साउनदेखि प्रदेशले नै दिने उनले जानकारी दिए ।साना गाडीहरू विस्थापन गर्ने नीति सरकारको रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब सार्वजनिक गाडीहरूमा क्यासलेस सिस्टम लागु गर्नुपर्ने बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij