Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सभापतिसँग टाढिएका बालकृष्ण खाँण कोइराला निवासमा

सभापतिसँग टाढिएका बालकृष्ण खाँण कोइराला निवासमा

काठमाडौँ : कुनै समय सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण विराटनगरस्थित कोइराला निवासमा आएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान कोइराला निवास आएका हुन् ।

कोइराला निवासमा उनको उपस्थिति कांग्रेसको राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ । सभापति देउवासँग चिढिएका खाँणले कोइराला निवासमै पत्रकार सम्मेलन पनि गरे । पत्रकार सम्मेलनमा गुट फेरेको नबताए पनि उनको उपस्थितिले कोइराला समूहका नेताहरु भने हर्सित बनेका छन् ।

कृष्णप्रसाद कोइराला हुँदै बिपी र गिरिजा बसेको यो घर डाक्टर शेखर कोइरालाको भागमा परेको छ । कोइरालाले कांग्रेसभित्र इतर समूहको नेतृत्व गरिरहेका छन् ।

सभापति देउवासँग टाढिएका खाँणले कोइराला निवकास पुगेर आफू डाक्टर शेखर कोइरालाको क्याम्पमा आएको संकेत गरे ।

कोइराला निवासमा उनले पत्रकारहरुसँग कोइराला निवास गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको दाबी गरे । नेपालको राजनीतिमा कोइराला परिवारले पुर्‍याएको योगदान अतुलनीय रहेको पनि स्मरण गरे ।

‘पार्टी नेता शेखर कोइराला यहाँ बस्नुहुन्छ । तर यहाँ पहिले बीपी कोइराला, गिरीजाप्रसाद कोइराला, बुवा कृष्णप्रसाद कोइरालापनि बस्नुहुन्थ्यो’, उनले भने, ‘यहाँ सबै कोइरालालाई सम्झनुपर्छ । उहाँहरुसंग भावनात्मक सम्बन्ध छ। उहाँहरु हाम्रो लागि महामानव हो । निवासलाई पार्टीको गुटको रुपमा हेर्न हुँदैन । यो हाम्रो लागि धार्मिकस्थल गएझै पवित्रस्थल हो।’

पार्टीको आगामी महाधिवेशनबारे पत्रकारको प्रश्नमा नेता खाँणले पार्टी विधानअनुसार विशेष परिस्थितिमा एक वर्ष थपेर पाँच वर्षभित्र महाधिवेशन गर्न सकिने व्यवस्था रहेको स्पष्ट पारे ।

खाँणले पार्टी भित्रको अनुशासनको कारवाही गर्नु र कारवाहीका विषयमा कुरा उठ्नु स्वभाविक भएको बताए । ‘कुनै पनि पार्टीको जिम्मेवार निकायले एक पक्षीय वा पक्षपातपूर्ण व्यवहार गर्नुहुदैन’, उनले भने, ‘कांग्रेस मुलुकको ऐतिहासिक प्रजातान्त्रिक पार्टी हो । कांग्रेस कमजोर हुँदा नेता र कार्यकर्तामात्र कमजोर हुँदैन, पार्टी कमजोर हुँदा मुलुकको प्रजातान्त्रिक पद्धति नै कमजोर हुनेछ।’

पार्टी संस्थापन वा पार्टी सभापतिसँगको दुरी बढ्दै गएको विषयमा उनले सभापतिलाई सहयोग गर्दै पार्टी बलियो बनाउनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट