Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

अनुशासन समितिको कारबाहीमा शेखर–गगनबिच कित्ताकाट

अनुशासन समितिको कारबाहीमा शेखर–गगनबिच कित्ताकाट

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले २०७९ सालमा भएका तीन तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध लागेको भन्दै असार २३ गते बुधबार २३ नेता–कार्यकर्तालाई कारबाही गर्‍यो । ५ सदस्यीय अनुशासन समितिमा बहुमतले अनुशासनको कारबाही गरेपछि पार्टीभित्र नेता डा. शेखर कोइराला नेतृत्वको इतर समूहले विरोध गरेको छ । सार्वजनिक रूपमा नभने पनि यो कारबाहीलाई लिएर आन्तरिक रूपमा संस्थापन पक्षकै नेताहरू पनि सन्तुष्ट छैनन् ।

पाँच सदस्यीय समितिमा संयोजक आनन्द ढुंगाना तथा सदस्यहरू ईश्वरी न्यौपाने र ध्रुव वाग्ले संस्थापन पक्षका छन् । संस्थापन पक्षले आफूहरूको मत नसुनेर बहुमतका आधारमा निर्णय गर्न लागेपछि इतर समूहका समिति सदस्यहरू सञ्जय गौतम र राजीव कोइरालाले समितिको निर्णयमा लिखित असहमति राखेका थिए । सदस्य कोइरालाले रातोपाटीलाई दिएको अन्तर्वातामा पनि त्यो स्वीकारेका थिए ।

आफ्नो समूहका नेतालाई लक्षित गरेर समितिले बहुमतका आधारमा निर्णय गरेपछि नेता डा.कोइरालाले असार २४ गते बिहीबार आफू पक्षका नेताहरूलाई यसबारे छलफल गर्न बोलाए । पार्टीको १४ औँ महाधिवेशनमा आफ्नै प्यानलबाट उम्मेदवार बनेर महामन्त्री जितेकाले गगन थापालाई पनि बोलाउन डा. कोइरालाले सचिवालयलाई निर्देशन दिए । तर, थापा थाइल्याण्ड गएकाले उनीसँग निकट नेताहरूलाई सचिवालयले बैठकमा आमन्त्रण गर्‍यो ।

डा. कोइरालाको सचिवालयका अनुसार थापा पक्षीय केन्द्रीय सदस्यहरू मधु आचार्य, अजयबाबु सिवाकोटी, प्रतिमा गौतम, मुक्ता यादव र प्रकाश स्नेही रसाइलीलाई समूहको बैठकमा बोलाइयो । सचिवालयले कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनलाई पनि बैठकमा सहभागी हुन आमन्त्रण गर्‍यो । सबैले टेलिफोनमा आउने बताए पनि कोही उपस्थित भएनन् ।

डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले निर्देशन बमोजिम आफूले सबैलाई आमन्त्रण गरेको बताए । ‘दाइ (डा. शेखर कोइराला)को निर्देशानुसार मैले उहाँहरूलाई टेलिफोन गरेको थिएँ । उहाँहरूले टेलिफोनमा आउने आश्वासन दिनुभएको थियो,’ थपलियाले रातोपाटीसँग भने, ‘तर बैठकमा कोही पनि आउनुभएन ।’

डा. कोइरालाको सचिवालयले टेलिफोन गरेको भनेर नाम दिएकामध्ये एक केन्द्रीय सदस्यलाई सोध्दा अनुशासन समितिको कारबाहीबारे छलफल गर्न बैठक छ भनेर टेलिफोन आएको बताए । त्यो जानकारी महामन्त्री थापालाई गराउँदा नजान निर्देशन भएपछि आफू नगएको उनको भनाइ छ ।

‘हो डा.सापको सचिवालयबाट अनुशासन समितिको कारबाहीबारे छलफल गर्न भन्दै बैठक आह्वान भएको खबर आएको थियो । त्यो जानकारी महामन्त्रीलाई गराएपछि नजान भन्नुभयो र गइएन,’ ती केन्द्रीय सदस्यले रातोपाटीसँग भने ।

केन्द्रीय सदस्य सिवाकोटीले आफूलाई अनुशासन समितिको निर्णयबारे छलफल गर्न भनेर बोलाइए पनि आफ्नो पारिवारिक कारणले जान नपाएको बताए । ‘अनुशासन समितिको कारबाहीबारे छलफल गर्न बोलाइएको बैठकमा आमन्त्रण भएको थियो । पारिवारिक कारणले जान पाइनँ,’ उनले रातोपाटीसँग भने ।

डा. कोइरालाको सचिवालयले बोलाएर नगएका थापा पक्षीय चार केन्द्रीय सदस्यले शनिबार विज्ञप्ति निकालेर अनुशासन समितिको निर्णयमा असन्तुष्टि जनाउँदै त्यो निर्णयलाईै राजनीतिक नैतिकताका दृष्टिले खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित भएको बताए ।

कांग्रेसको अनुशासन समितिको असार ९ गतेदेखि १७ गतेसम्मको बैठकले गरेको निर्णय असार २३ गते सार्वजनिक भएको हो । निर्णय भएको लामो समयसम्म सार्वजनिक नहुनुमा पनि महामन्त्री थापाको हात रहेको संस्थापन पक्षीय नेताहरू बताउँछन् ।

महामन्त्री थापाले आफू नेपालमै भएका वेलामा अनुशासन समितिको बहुमतले गरेको कारबाही सार्वजनिक गर्दा १४ औँ महाधिवेशनमा आफ्नै प्यानलमा रहेका नेता–कार्यकर्तामाथिको कारबाहीको बात लाग्ने बताएपछि केही दिनका लागि रोकिएको थियो । थापा थाइल्याण्ड भ्रमणमा गएका बेलामा समितिका संयोजक ढुंगानाले अनुशासनको कारबाही गरिएका नेताको लिष्ट सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट