Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

क्यान्सरको प्रकार पत्ता लगाउने ‘आईएचसी’ उपकरण सञ्चालनमा आयो

क्यान्सरको प्रकार पत्ता लगाउने ‘आईएचसी’ उपकरण सञ्चालनमा आयो

चितवन : चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरको प्रकार (टाइप) पत्ता लगाउने अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री ( आईएचसी)’ मेसिन सञ्चालनमा ल्याएको छ । स्वीस कम्पनी ‘रोश’द्वारा निर्माण गरिएको यो मेसिनको प्रयोगसँगै अब बिरामीको नमूना (टिस्यु) भारतलगायत अन्य देशमा पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

अस्पतालका प्रयोगशाला प्रमुख डा ग्रेता पाण्डेका अनुसार यो मेसिनमार्फत अब नेपालमै क्यान्सरको पहिचान, वर्गीकरण र लक्षित उपचार निर्धारण सहज भएको छ । उनको भनाइ छ, “बिरामीलाई क्यान्सर त भएको हो तर कुन प्रकारको हो भन्ने थाहा पाउन यो परीक्षण अनिवार्य हुन्छ । अब त्यो परीक्षण सजिलै यहीँ हुनेछ ।” यसअघि परीक्षण भारत पठाउँदा रिपोर्ट ढिलो आउने, उपचारमा ढिलाइ हुने, खर्च बढ्नेलगायत समस्या थिए । अब भने छिटो, सटिक र वैज्ञानिक आधारमा रिपोर्ट प्राप्त गर्न सकिने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार ‘रोश बेन्चमार्क अल्ट्रा’ एक पूर्ण स्वचालित प्रणाली हो, जसले टिस्युमा रहेका प्रोटिन मार्करहरू पत्ता लगाउँछ । यो मेसिनले टिस्यु स्लाइडहरूमा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी)) परीक्षण गर्छ, जसबाट ट्युमरमा कुन प्रोटिन अभिव्यक्त भएको हो भन्ने कुरा थाहा हुन्छ र यसले छिटो, सटिक र भरपर्दो नतिजा दिन्छ । क्यान्सरको केवल पुष्टि भएरमात्र पुग्दैन, कस्तो क्यान्सर हो भनेर थाहा पाएपछि मात्र कुन थेरापी दिने भनेर निर्णय गर्न सकिन्छ जस्तैः केमोथेरापी दिने कि रेडिएसन, कुन औषधि प्रयोग गर्ने, रोगको आक्रमकता कति हो भनेर जानकारी हुन्छ । अस्पताल आफैँले मेसिन खरिद गरेर सञ्चालनमा ल्याएको डा पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट