Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

भीमफेदीको राणाकालीन हात्तीसार संग्रहालय

भीमफेदीको राणाकालीन हात्तीसार संग्रहालय

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ मा अवस्थित राणाकालीन हात्तीसार संग्रहालय ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थल हो। यस संग्रहालयमा बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपाल भ्रमणका क्रममा शिकारका लागि प्रयोग गरेका हौदाहरू, राणा प्रधानमन्त्री जंगबहादुर राणा तथा राणा परिवारद्वारा प्रयोग गरिएका विभिन्न ऐतिहासिक सामग्रीहरू संरक्षण गरिएको छ।

संग्रहालयमा जम्मा ४२ वटा हौदाहरू छन्, जसमा बेलायती महारानीले प्रयोग गरेका ४ वटा शिकारी हौदा र जंगबहादुरद्वारा प्रयोग गरिएको पिँजडायुक्त हौदासमेत छन्। त्यस्तै, हात्तीमाथि चढ्न प्रयोग हुने धानको भुस, पराल, जुटका बोरा, सेतो कपडा, माछा राख्ने एक्युरियम, हात्ती बाँध्ने खम्बा, झुलका डण्डी, बेत, खुर्पी, धागो, खन्ती, डोरी, पुराना काठी, तथा ‘सुसारे’ र ‘भारदारी’ हौदाजस्ता विविध सामग्रीहरू पनि संरक्षण गरिएको छ।

विगतमा बेवारिसे अवस्थामा रहेको यो ऐतिहासिक स्थललाई बागमती प्रदेश सरकारको अगुवाइमा संरक्षण कार्य थालिएको हो। डिभिजन वन कार्यालय मकवानपुरमार्फत आर्थिक वर्ष २०७६/७७ देखि जग्गाको रेखांकन, अतिक्रमण हटाउने कार्य, तथा भौतिक सामग्रीको संरक्षण सुरु गरिएको हो।

गत वर्ष हात्तीसार परिसरमा करिब ४ लाख रुपैयाँको लागतमा बगैँचा निर्माण, र १७ लाख रुपैयाँमा मुख्य गेटदेखि संग्रहालयसम्म ढुंगा बिछ्याउने कार्य सम्पन्न गरिएको छ। ३३ रोपनी क्षेत्रफलमा फैलिएको संग्रहालयमा १६ लाख रुपैयाँको पर्खाल निर्माण तथा ४ लाख रुपैयाँको सरसफाइ र सामग्रीको ट्यागिङ कार्य पनि सम्पन्न भएको छ।

हात्तीसार संग्रहालयमा श्री ५ महेन्द्र, बडामहारानी, श्री ५ वीरेन्द्र र श्री ५ ज्ञानेन्द्रसम्मले चितवनमा शिकार खेल्न जाने क्रममा प्रयोग गरेका सामग्रीहरू छन्। त्यसबेलाको मुख्य शिकार मार्ग पनि भीमफेदी हुँदै जान्थ्यो। त्रिभुवन राजपथ निर्माणपूर्व तराई र काठमाडौं जोड्ने प्रमुख मार्ग पनि यही क्षेत्र थियो।

२०५९ जेठमा तत्कालीन सांसद हिरण्यलाल श्रेष्ठले थप आकर्षणका लागि एक्युरियमहरू राख्ने प्रयास गर्नुभएको थियो, तर ती हाल प्रयोगमा छैनन्। हाल यो संग्रहालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्वामित्वमा छ र करिब २५ रोपनी क्षेत्रमा फैलिएको छ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार हात्तीसार संग्रहालय नेपालको शाही इतिहास र शिकार संस्कृति उजागर गर्ने स्थल हो। प्रवेशद्वारमा दुईवटा हात्तीका मूर्ति, एलिजाबेथ द्वितीय र जंगबहादुर राणाको शालिक राख्ने योजना रहेको बताइएको छ।

अध्यक्ष लामाले भन्नुभयाे, “संग्रहालयमा रहेका सामग्रीहरूले स्थानीय पर्यटन मात्र होइन, राष्ट्रिय सांस्कृतिक सम्पदा प्रवर्द्धनमा पनि ठूलो टेवा पुग्छ।” संग्रहालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन संरचना सुधार, सामग्री संरक्षण र प्रचारप्रसार अभियान सञ्चालन गर्न आवश्यक रहेको धारणा उहाँले राख्नुभयो।

नेपालको पहिलो हात्तीसार यही भीमफेदीमा रहेको पाइन्छ। हात्ती राख्ने परम्परा जंगबहादुर राणाबाट सुरु भएको हो। १९०३ सालमा प्रधानमन्त्री बनेपछि उनले शक्तिशाली भई राजा राजेन्द्रलाई अपहरणजस्तै गरी राजधानी ल्याइदिएपछि आफ्नो प्रभाव जमाएका थिए। हात्तीहरूलाई सुकेको ठूलो रुखमा बाँध्ने प्रचलनबाटै हात्तीसार सुरु भएको इतिहास उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij