चितवन: उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक सङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनअन्तर्गत आज यहाँको भरतपुर अस्पतालमा चिकित्सकले धर्ना दिएका छन् । चिकित्सकसँग निजी अस्पताल सञ्चालक, नर्सलगायत स्वास्थ्य क्षेत्रका सरोकारवालाले ऐक्यबद्धता जनाउँदै धर्ना दिएका हुन् ।
चितवनका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक भरतपुर अस्पतालमा जम्मा भएर एक घण्टा धर्ना दिएका थिए । धर्ना कार्यक्रममा नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा उमेश नेपाल, भरतपुर अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष डा भोजराज अधिकारी, सङ्घका उपाध्यक्ष एवं भरतपुर अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष डा दिपेन्द्र न्यौपाने, निजी अस्पताल समन्वय समिति ९अफिन० चितवनका अध्यक्ष विक्रम अधिकारी, नेपाल नर्सिङ सङ्घका केन्द्रीय उपाध्यक्ष बबिता घिमिरे लगायतले बोल्नुभएको थियो । उहाँहरुले माग पूरा नहुञ्जले आन्दोलन जारी रहने भन्दै चिकित्सकीय सेवालाई उपभोक्ता अदालत लैजान नहुने बताउनुभयो ।
सङ्घका सचिव डा महेन्द्र अग्रहरीका अनुसार कार्यक्रममा चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललगायत निजी र सरकारी अस्पतालका चिकित्सक सहभागी हुनुहुन्थ्यो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij