नुवाकोट: तीन जिल्लाका बिरामीहरूको उपचार हुँदै आइरहेको त्रिशूली अस्पताल नुवाकोटमा मिगौलाका बिरामीहरूको सुविधाका लागि डायलिसिस मेसिन थपिएका छन् । यस वाट बिरामीहरूलाई सुविधा पुगेको छ ।
मिर्गौलामा खराबी भएर नियमित डायलिसिस गर्नुपर्ने बिरामीलाई लक्षित गरी विदुर नगरपालिका ९ कोलोनीस्थित त्रिशूली अस्पतालमा थप दुई थान डायलिसिस मेसिन थपिएका छन् । यसअघि चार वटा उपकरणमार्फत सेवा दिँदै आएको अस्पतालले अव भने थप दुई उपकरणसहित सेवा विस्तार गरेको हो ।
त्रिशूली अस्पतालको मागअनुसार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्य आपूर्ति केन्द्र, हेटौँडाले उक्त दुई वटा डायलिसिस मेसिन उपलब्ध गराएको अस्पताल सञ्चालक तथा व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार मिर्गौलाका बिरामीहरूलाई थप सेवा प्राप्त भएको छ ।त्रिशूली अस्पतालबाट डायलिसिस सेवा सुरु भएपछि नुवाकोट, रसुवा र धादिङको उत्तर पूर्वी आसपासका बिरामीलाई काठमाडौँसम्म धाउनु पर्ने बाध्यता हटेको छ । बिरामीको चाप बढ्दै गएपछि अस्पतालले प्रदेश सरकारसँग थप मेसिनको माग गरेकोमा बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामाको पहलमा थप दुई थान आधुनिक मेशिन प्राप्त भएको अस्पताल निर्देशक डा. राजेन्द्र लामाको भनाई छ ।
उहाँका अनुसार त्रिशूली अस्पतालमा हाल थप जनशक्तिलाई तालिम दिई हाल तीन वटा सिफ्टमा सेवा प्रदान भइरहेको छ । यससँगै बिरामीलाई पालो कुर्नुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।
निर्देशक डा. लामाका अनुसार हाल भर्खर स्थापना गरिएका उपकरण जापानी प्रविधिमा आधारित छन्, जसले गुणस्तरीय सेवा दिन सहयोग पुर्याउनेछ । उहाँले थप उपकरणसँगै थप सहकार्य भए बिरामीलाई अझ सुलभ सेवा उपलब्ध हुने बताउनुभयो ।
मिर्गौला फेल भएका बिरामीको रगतबाट विषालु पदार्थ, अतिरिक्त पानी र इलेक्ट्रोलाइट सन्तुलन मिलाउन डायलिसिस अनिवार्य हुन्छ । त्रिशूली अस्पतालले ग्रामीण क्षेत्र, कमजोर आर्थिक अवस्था भएका बिरामीलाई सेवा दिँदै आएको छ । जसले गर्दा बिरामीहरूलाई महत्त्वपूर्ण राहत मिलेको अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीको भनाई छ ।
मिर्गौला प्रत्यारोपण नगरेसम्मका लागि डायलिसिस गर्नुपर्ने बिरामीको रगत सफा गर्न, युरिया, क्रियाटिनिन लगायत विषालु पदार्थ हटाउन डायलिसिस अत्यावश्यक रहेको छ । यससँगै त्रिशूली अस्पतालले तीन सिफ्टमा सेवा दिन थालेसँगै नुवाकोट र आसपासका मिर्गौला रोगीहरूलाई निकै सुविधा पुगेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij